सबैभन्दा बढी नाफा कमाउने बैंक बन्याे नबिल, कुन बैंककाे नाफा कति ?

सबैभन्दा बढी नाफा कमाउने बैंक बन्याे नबिल, कुन बैंककाे नाफा कति ?


काठमाण्डु– गत आर्थिक वर्ष २०८०\०८१ मा वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् ।

बैंकहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सो नाफा कमाएको देखिएको हो । यसरी हेर्दा बैंकहरुको यो नाफा अघिल्लो आव २०७९ ८० को सोहि अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आवमा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बनेको छ । समीक्षा अवधिमा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२३ प्रतिशतले बढी हो । यता, ग्लोबल आईएमई बैंक धेरै कमाउने दोस्रो बैंक बनेको छ । बैंकले असार मसान्तसम्ममा ६ अर्ब १६ करोड रुपियाँ नाफा गरेको छ भने ५ अर्ब १९ लाख रुपैयाँ नाफासहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ ।

सबैभन्दा कम नाफा कमाउने बैंकमा भने माछापुच्छ्रे बैंक रहेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब २५ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ।

यस अवधिमा सर्वाधिक नाफा वृद्धि भने प्रभु बैंकको देखिएको छ । बैंकको नाफा गत आवको चौथो त्रैमाससम्म १४९९.०४ प्रतिशत वृद्धि भएको छ । साथै, कुमारी बैंकको खुद नाफा ३४५.६७ प्रतिशत, प्राइम कमर्सियल बैंकको २६७.१९ प्रतिशत र कृषि विकास बैंकको १७६.२३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा भने घटेको छ । नाफा घट्ने बैंकहरूमा एनआईसी एशिया बैंकको सर्वाधिक ६८.९१ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल बैंकको ५१.८० प्रतिशत र सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशतले घटेको छ ।