काठमाडौं – अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सांसद भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट सांसद बनेकी हुन् ।
एकै व्यक्ति दुई पदमा बस्न नहुने पार्टीको नियमअनुसार लामा अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन् । माओवादी केन्द्रसँग एमालेको पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न लागेको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताए ।
‘अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वा्िचत हुनुभएको छ’ उपाध्यक्ष बर्तौलाले भने,‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उहाँले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताउनुभएको थियो ।’
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेकी हुन् । विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ आँै राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ । लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा छन् ।
प्रतिक्रिया