काठमाण्डु– नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज बसेको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाखबाट ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २ खर्ब २ अर्ब सात करोड सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२.१९ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब ८३ करोड पुगेको बताए।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा सङ्कलित गरेको २ खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।
कोषले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७ करोड ६४ लाख कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा १ अर्ब १५ करोड ८७ लाख रहेको छ ।
उक्ता खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाखबाट ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
प्रतिक्रिया