लुम्बिनीमा संसदीय दलको नेता फेर्ने रेशम चौधरीको प्रयास असफल

लुम्बिनीमा संसदीय दलको नेता फेर्ने रेशम चौधरीको प्रयास असफल


काठमाण्डु–नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो ।

रेशम चौधरी पक्षले बुधबार पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस गरेको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो ।

रेशम पक्षले राजकुमार चौधरी दलको नेता चयन भएको पत्र सभामुखलाई बुझाएको थियो । तर प्रदेश सभाले बिहीबार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै कायम छन् । प्रदेश सभामा दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य छन् ।

संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक फेर्ने निर्णय गरेर प्रदेश सभा सदस्य राजकुमार चौधरीले आफूलाई संसदीय दलको नेता तोकेर निवेदन पेश गरेका थिए । तर, त्यो निवेदनलाई प्रदेश सभाले मान्यता दिएन । सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभामा प्राप्त भएको निवेदन र निर्णयहरुलाई अध्ययन गर्दा शंकास्पद भएको भन्दै मान्यता नदिएको बताए ।

संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरणसहितको पत्र साउन ७ गते प्रदेश सभामा पेश गरिएको थियो । बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको उल्लेख थियो ।

लुम्बिनीमा नाउपाका ४ जना सांसद छन् । संसदीय दलको नेताबाट हटाईएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन् । रञ्जिता र रेशम श्रीमान श्रीमती हुन तर, यी दुईले पछिल्ला केही महिनायता आ आफ्नो गुट खडा गरेका छन् । सुदूरपश्चिममा लामो समयसम्म पार्टीमा विवाद कायमै छ ।

लुम्बिनीमा धर्मबहादुर चौधरी यसअघि दुई पटकसम्म मन्त्री भईसकेका छन् भने रेशमले आफू पक्षका राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने तयारी थियो । तर, प्रदेश सभाले मान्यता नदिएपछि धर्मबहादुर नै सरकार जाने करिव पक्कापक्की भएको नाउपाका नेताहरु बताउँछन् ।