नैनीतालमा नेपाली विद्यार्थी मृत्यु प्रकरणको तीन बर्ष ,परिवार र शुभेच्छुकद्धारा माइतीघरमा प्रदर्शन

नैनीतालमा नेपाली विद्यार्थी मृत्यु प्रकरणको तीन बर्ष ,परिवार र शुभेच्छुकद्धारा माइतीघरमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तराखण्ड नैनीतालको सेरउड कलेजमा तीन बर्षअघि नेपाली विद्यार्थी सान प्रजापतिको रहस्यपूर्ण मृत्युमा संलग्नहरुमाथि कारबाहीको माग गर्दै आज माइतीघर मण्डंलामा परिवारजन तथा आफन्तले प्रदर्शन गरेका छन् ।

 

जस्टिस फर सान लेखिएको प्लेकार्डसहित सयौं शुभेच्छुकहरु जम्मा भएर दोषीमाथि कारबाहीको माग गरेका छन् । प्रदर्शनमा नेपाली सिने क्षेत्रका स्थापित कलाकार, खेलाडी, बैंकर, व्यासायी, मृतककी आमा नीना श्रेष्ठसहित सर्वसाधारण सहभागी छन् ।

 

उक्त मृत्यु प्रकरणमा सेरउड कलेजका प्रिन्सिपल अमनदिप सिंह सन्तु र दुईजना थप कर्मचारीलाई दोषी ठहर गर्दै प्रहरीले तयार गरेको चार्ज्सिट नैनीताल हाइकोर्टमा दर्ता भएको छ । त्यसको सुनुवाई अब चांडै नै हुने वकिलहरुले बताएका छन् ।

 

निर्दोष नेपाली विद्यार्थीमाथि लापरबाही भएको भन्दै संलग्नहरुमाथि कारबाहीका लागि दबाब दिन कलेजका पूर्व्विद्यार्थीहरुले तीन बर्षदेखि जस्टिस फर सान अभियान सञ्चालन गर्दै आएका छन् । जसको नेतृत्व सेरउड कलेका पूर्व विद्यार्थीसमेत रहेका समाजसेवी तथा राप्रा प्रजातान्त्रिकका केन्द्रिय सदस्य उज्ज्वल विक्रम थापाले गरेका छन् ।

 

‘भारतीय न्यायिक प्रणालीमा चार्ज सिटेट भइसकेको व्यक्तिलाई केबल क्वान्टम अफ पनिसमेन्ट (अर्थात, सजाय कुन प्रकारको दिने) भन्ने मात्रै बांकी हो’ संयोजक थापाले भने, ‘यो समस्त नेपालीको भारतमा स्वतन्त्र र निस्पक्ष न्याय पाउने वा नपाउने चासोको बिषय हो ।’
 

कक्षा ९ मा अध्ययनरत नेपाली विद्यार्थी सान प्रजापतिको २०७१ कात्तिक २७ गते रहस्यमय तरिकाबाट मृत्यु भएको थियो । सामान्य ज्वरो आएको र पछि वान्ता भएको अवस्थामा उनलाई न्यूनतम मानवीय व्यवहारसमेत नगरी उपचारमा लापरबाही गर्दा मृत्यु भएको थियो ।  सान विरामी भएको भन्दै तारन्तार आमा निना श्रेष्ठलाई खबर भयो तर निना नयां दिल्ली पुग्दा सानको शब ल्याइएको थियो ।

 

प्रहरीले सन् २०१६ जनवरी २० अर्थात् आजकै दिन कलेज प्रशासनको लापरबाहीका कारण सानको मृत्यु भएको किटानीसहितको विस्तृत अनुसन्धान अदालतमा बुझाएको थियो । त्यसपछि सानकी आमा नीना श्रेष्ठका तर्फ प्रिन्सिपल अमनदिप सिंह सन्तदु, कलेजका नर्स र हाउस मास्टरविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।  उक्त कलेज ‘चर्च अफ नर्थ इन्डियाको आगरा डायसिस (शाखा)द्धारा सञ्चालित छ ।

 

अभियानका संयोजक थापाले भने, ‘प्रहरीको अनुसन्धानमा दोषी ठहर भइसकेका प्रिन्सिपल अमनदिपलाई सो पदबाट बर्खास्त नगर्दा कलेजको आर्थिक श्रोत र सामाजिक शक्ति प्रयोग गरेरर निर्दोष बालकको मुद्दा प्रभावित हुन सक्ने सम्भावना उत्तिकै छ । प्रहरी छानविनमा दोषी ठहर भइसकेको प्रिन्सिपललाई अहिले पनि कलेजमा अध्ययनरत ८ सय विद्यार्थीको जिम्मा दिइनु कदापि न्यायोचित छैन ।

 

भारतीय न्यायिक प्रणालीमा चार्ज सिटेट भइसकेको व्यक्तिलाई केबल क्वान्टम अफ पनिसमेन्ट (अर्थात,सजाय कुन प्रकारको दिने) भन्ने मात्रै बाँकी हो । यो समस्त नेपालीको भारतमा स्वतन्त्र र निस्पक्ष न्याय पाउने वा नपाउने चासोको बिषय हो ।

 

भाजपा नेता तथा सांसद् अनुराग ठाकुर, मोनिका गान्धी (सोनिया गान्धीकी देउरानी), सञ्जय गान्धीका छोरा भाजपा सांसद वरुण गान्धी, भारतीय कंग्रेसका सांसद सत्यव्रत चतुर्वेदी, भारतीय र नेपाली सञ्चारमाध्यमले सानको मृत्युमा संलग्नमाथि कारबाही हुनुपर्ने बताउंदै आएका छन् । घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा पनि जानकार रहेको थापाले बताए ।