ललितपुर— ललितपुरको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट शुरू हुने भएको छ । उक्त सड्क खण्ड ठेकेदारको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको थियो । सड्क निर्माण नभएपछी भैसेपाटी क्षेत्रका स्थानीयले आइतबार बाटो बन्द गरेका थिए । स्थानियहरुले शनिबारदेखि दैनिक तीन घण्टा बाटो बन्द गर्ने घोषणा गरेपछी प्रशासनले सरोकारबालासंग छलफल गरेको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्का, वडा नं. २५ का वडा अध्यक्ष दौलतकुमार खत्री र स्थानीयवासीसहितको बसेको बैठकले सोमबारबाट निर्माण सुचारु गर्ने निर्णय गरेको हो ।
स्थानीयले विरोध जनाएसंगै जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको पहल र ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशीको समन्वयमा आइतबार समस्या समाधानका लागि बैठक बोलाइएको थियो । बैठकमा स्थानीय जनप्रतिनिधिसंगै नेपाल प्रहरी र सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझा समेत सहभागी भएको बैठकले सोमबारबाट बाटो निर्माण सुरु गर्ने सहमति भएको थियो ।
दशैअघि कालोपत्र्रे निर्माण गर्ने सहमति भएसंगै स्थानिय आन्दोलनका कार्यक्रममा तत्काललाई स्थागित गरेका छन् । ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जोशीले सोमबार तत्कालै खाल्डाखुल्डी पुर्ने, पेटी निर्माण शुरू गर्ने र दशैभित्र नै कालोपत्र गर्ने सहमति भएको जानकारी दिए ।
नख्खुदेखि आवासगेटसम्म बाटो बनाउने जिम्मा विरुवा कम्पनीले पाएको थियो । उक्त कम्पनीले समयमै काम गर्न नसक्दा सडक निर्माण अलपत्र परेको हो । समयमा काम सम्पन्न गर्न नसकेपछि सरकारले उक्त कम्पनीलाई कालोसूचीमा राखिसकेको छ । अहिले सीएम कन्ट्रक्सनले सड्क निर्माणको जिम्मा पाएको छ ।
भैसेपाटीमै बस्ने यसअघिका अर्थमन्त्री विष्णु पौडेलले समेत उक्त सडक निर्माण प्रक्रिया अघि बढाउन पहल गरेका थिए । तर, निर्माण कम्पनीको बेवास्ताका कारण सडक कालोपत्रे हुन सकेको थिए । कम्पनीका निर्देशक शान्त श्रेष्ठले दशैं र तिहार बीचमा बाटो कालोपत्रे भइसक्ने दावी गरे ।
भैंसेपाटीमा मन्त्री क्वाटर निर्माण भइसक्दा नख्खु–भैंसेपाटी सडकखण्ड ६ वर्षदेखि अलपत्र परेको थियो । सडक निर्माण नहुंदा वर्षातमा हिलो र गर्मी हुँदा धुलोले सताउने गरेको स्थानीयहरुको गुनासो छ । विभिन्न मुलुकका राजदूत, उच्च सरकारी पदाधिकारी, नेता र सांसद सहित विशिष्ट व्यक्तिहरू बसोवास गर्ने भैसेपाटी क्षेत्रमा सडक निर्माणमा ढिलाई भएपछी आन्दोलन गर्न बाध्य भएको स्थानिय समेत रहेका जोशीको भनाई छ ।
प्रतिक्रिया