काठमाण्डु-रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । जसमा तेजाब पीडितहरूको कथा र पीडालाई प्रस्तुत गरिएको छ ।
के कारणले युवती वा युवकविरुद्ध एसिड प्रहार हुन्छ? एसिड प्रहार भएपछि पीडितहरूले न्याय पाउन भोग्नुपरेका सास्ती ट्रेलरमा देखाइएको छ ।
फिल्ममा पर्साकी तेजाबपीडित मुस्कान खातुनलगायत मुख्य कलाकार छन् ।
त्यसैगरी विशेष भूमिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई पनि ट्रेलरमा छन् ।
एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित गरेको प्रदर्शनमा यी नेताहरूको समर्थन र योगदान फिल्ममा देखाइएको छ ।
तेजाब पीडितहरूको कथामा आधारित यस फिल्मको कथा शिवन अधिकारीले लेखेका हुन् । फिल्ममा खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाललगायतले अभिनय गरेका छन् ।
सत्य घटनामा आधारित यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जनाको पीडा समेटिएको ढुंगानाले जानकारी दिए । रमितकै निर्माण रहेको यो फिल्म भदौ ७ गते रिलिज हुँदै छ ।
प्रतिक्रिया