काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको बताएका छन् ।
पार्टी जिम्मेवारीमा पुनः फर्कनु आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा भएको जनाउँदै उनले यसमा कुनै कानुनी र संवैधानिक अड्चन नभएको बताए ।
उनले पार्टीले खटाएबमोजिम नै पहिले उपराष्ट्रपति बनेको र अहिले पार्टीको जिम्मेवारीमा आएको उल्लेख गरे । शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले पहिले पार्टीले पठाएर उपराष्ट्रपतिको जिम्मेवारीमा गएको र कार्यकाल सकिएपछि पुनः पार्टी जिम्मेवारीमै फर्किएको प्रष्ट पारे ।
‘म राजनीतिक आधारबाट यहाँ आएको हुँ, कानुनले पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन’, उनले भने ।
पार्टी जिम्मेवारीमा फर्किएपछि पहिलो पटक पत्रकारसँग साक्षात्कार गरेका पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पूरा नभएसम्म पार्टीमा जिम्मेवारी लिनुपर्ने आफ्नो प्रष्ट कुरा भएको बताए ।
उनले अहिलेको अवस्थामा राजतन्त्र फर्काउने कल्पना कसैले नगरे हुने र त्यस्ता मण्डलेहरूलाई नेपाली जनताले साथ नदिने बताए ।
उपाध्यक्ष पुनले पार्टीले आवश्यक ठानेर राष्ट्रपतिमा अघि सारे आफू तयार भएको पनि बताए ।
प्रतिक्रिया