शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा धेरै काम गर्न बाँकी छ : अध्यक्ष दाहाल

शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा धेरै काम गर्न बाँकी छ : अध्यक्ष दाहाल


चितवन – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

चितवनको कालिका नगरपालिकास्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७०औं वार्षिकोत्सव एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जुन देशमा गतिलो शिक्षा हुन्न र स्वास्थ्य सुविधाको सही व्यवस्थापन हुँदैन, त्यहाँका जनतालाई सभ्य र सबल नागरिक बनाउन गाह्रो हुने बताए ।

‘जुन देशमा शिक्षा छैन, जुन देशका नागरिकलाई स्वास्थ्यको ठीक व्यवस्थापन छैन । खेलकुद र मनोरञ्जनका लागि उचित व्यवस्था गर्न सकिँदैन,’ अध्यक्ष दाहालले भने, ‘त्यस देशमा सभ्य नागरिक बनाउन गाह्रो हुन्छ ।’

संविधानमा जनताका मौलिक हक अधिकारहरू उल्लेख्य भए पनि व्यावहारिक रूपमा जनताले अनुभूति हुने गरी काम गर्न राज्य चुकिरहेको अध्यक्ष दाहालले बताए । लामो समयदेखि संसद्मा रहेको शिक्षा ऐन बनाउन नसक्दा नेपालको शिक्षा क्षेत्रमा रहेका थुप्रै समस्याहरू समाधान गर्न नसकिएको भन्दै अध्यक्ष दाहालले ऐन–कानून निर्माणको ढिलाइले नै यी समस्याहरू आएको बताए ।

शिक्षा ऐनजस्तै अरु थुप्रै ऐन कानूनहरू बनाउन बाँकी रहेको भन्दै अध्यक्ष दाहालले राजनीतिक दल, सांसद तथा सरोकारवाला सबै गम्भीर भएर कानून निर्माणमा तदारुकता दिनुपर्नेमा जोड दिए ।

बालबालिकालाई विद्यालय जान आफैं तयार हुने वातावरण बनाउनुपर्नेतर्फ शिक्षक, अभिभावक र सरोकारवाला सबैले सोच्नुपर्ने अध्यक्ष दाहालले बताए । खाजा वा अन्य लोभ देखाएर बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने र भर्ना गरेर तथ्यांक देखाउने तर उनीहरूको शैक्षिक गुणस्तर र नियमितताबारे चासो नदिने खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले सरकारी विवरण र फाइलमा मात्रै देखिने प्रगति झन् खतरनाक भएको बताए ।

विश्वका धेरै देशहरूको तुलनामा नेपालको संविधानमा मौलिक हक, समावेशिता लगायतका अधिकार धेरै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन हुन नसक्दा जनताले उपलब्धिको अनुभूति गर्न नपाएको बताए ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले भने, ‘चितवन सबैले सुगम भन्छन् तर चितवनका पहाडी भेग कति विकट छन् भन्ने यहाँ घुमेकालाई मात्रै थाहा छ । मैले पश्चिम नेपालका धेरै पहाडी जिल्लाहरू घुमेको छु । त्यहाँभन्दा सुगम भनिएको चितवनका पहाडी क्षेत्रको अवस्था निकै दयनीय छ । यहाँका जस्तो विकट पहाड कतै देखेको छैन ।’

साथै अध्यक्ष दाहालले पदमपुर आधारभूत विद्यालयको २ तलासहित ६ कोठे भवनको शिलान्यास गरे । भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत अध्यक्ष दाहालले आफ्नो तर्फबाट १ करोड रकम छुट्याइएको थियो ।