काठमाडौं – पोखरा राष्ट्रियसभा निर्वाचनको लागि गण्डकी प्रदेशमा मतदान जारी छ । प्रदेशमा राष्ट्रियसभा सदस्यमा एक महिला र एक अन्य पदका लागि निर्वाचन भएको हो । नेकपाले पार्टी प्रवक्तासमेत रहेका गोरखाका नारायणकाजी श्रेष्ठ र तनहुँकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । त्यो पराजयपछि उनको सिंहदरबार यात्रा रोकिएको थियो । भट्टराईले ६० हजार एक सय नौ मतमा ३१ हजार आठसय सात मत ल्याएका थिए भने श्रेष्ठले २४ हजार नौ सय ३३ मात्र मत ल्याएका थिए ।
यो पटकको चुनावमा उनको विजय सुनिश्चित छ । विजयसँगै उनको सिंहदरबार यात्रा सुनिश्चित मात्र हुनेछैन, उनी पुनः सरकारमा जाने सम्भावना पनि रहेको राजनीतिक विश्लेषक बताउँछन् । उनी आफैँ पनि पार्टीले सरकामा पठाए त्यसका लागि तयार रहेको बताउँदै आएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्याङजाका सूर्यप्रसाद रेग्मी र म्याग्दीकी विमला गौचनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले यसपटक राष्ट्रियसभामा शंंकरप्रसाद बराललाई उम्मेदवार बनाएको छ ।
निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरि कुल २७० जनाले मतदान गर्दैछन् । चुनावमा गण्डकीका मुख्यमन्त्रीसहितका नेताहरुले भोट हालिसकेका छन् ।
चुनावमा राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तोकिएको छ । यसका आधारमा गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधिको मतभार तीन हजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ । पाँच हजार ९४० मतभारमा बढी ल्याउने दुई उम्मेदवार विजयी बन्नेछन् ।
यसपटक प्रदेशगत रुपमा प्रत्येक क्लस्टरबाट एक÷एक जनामात्रै चुनिने भएकाले बहुमत ल्याउने व्यक्तिले चुनाब जित्नेछन् ।
गण्डकी प्रदेशसभामा नेकपाको एकल दुईतिहाई बहुमत छ भने स्थानीय तहमा पनि नेकपा नै अग्रस्थानमा छ । यस प्रदेशमा एक महानगर २६ नगरपालिका र ५८ गाउँपालिकासहित ८५ स्थानीय तह रहेका छन् । स्थानीय तहको मतपरिणाम अनुसार नेकपा ले प्रमुख/अध्यक्षमा ३९ तथा उपप्रमुख/उपाध्यक्षमा ४३ स्थानमा विजयी बनेको थियो ।
त्यस्तै, नेपाली कांग्रेस प्रमुख/अध्यक्षमा ४४ स्थान तथा उपप्रमुख÷उपाध्यक्षमा ३७ स्थानमा विजयी बनेको थियो ।
राष्ट्रिय जनर्मोचा र स्वतन्त्रका उम्मेदवारले एक÷एक स्थानमा प्रमुख पद जितेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनर्मोचाले दुई/दुई वटा उपप्रमुख पदमा विजयी बनेका थिए । उपप्रमुखमा एक स्वतन्त्र उम्मेदवार पनि विजयी बनेका थिए ।
स्थानीय तह निर्वाचनमा प्रमुख/उपप्रमुख गरी ८२ स्थानमा जित हात पारेको नेकपाको मतभार एक हजार ४७६ रहेको छ । प्रदेशसभामा ४० सिटसहित सत्तारुढ नेकपाको मतभार एक हजार ९२० सहित कुल तीन हजार ३९६ मतभार रहेको छ ।
८१ स्थानीय तहका प्रमुख÷उपप्रमुख जितेको कांग्रेसको मतभार एक हजार ४५८ रहेको छ ।
प्रदेशसभा निर्वाचनमा भने कांग्रेसले १५ सिट मात्र जितेको छ । यसमा प्रत्यक्ष ६ र समानुपातिकका ९ प्रदेससभा समावेश भएका छन् । १५ प्रदेससभा सदस्यको मतभार ७ सय २० हुन आउँछ । दुवै मिसाएर नेपाली कांग्रेसको मतभार दुई हजार १७८ हुन आउँछ ।
प्रदेशमा सरकारलाई समर्थन गर्दै विपक्षमा बसेको राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्य र स्थानीय तहका तीन प्रमुख/उपप्रमुख मतदाता छन् । जनमोर्चाको मतभार कुल १९८ मतभार छ ।
समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्यको ९६, स्थानीय तहमा दुई स्थानामा जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ३६ र स्वतन्त्रबाट विजयी दुई जनप्रतिनिधिको ३६ मतभार रहेको छ ।
प्रतिक्रिया