नारायणी नदीले पार गर्‍यो खतराको तह

नारायणी नदीले पार गर्‍यो खतराको तह


काठमाण्डु-नारायणी नदीको सतहले खतराको तह पार गरेको छ । चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जनाएको हो ।

देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ । नौ मिटरभन्दा माथि पुग्नुलाई खतराको तह मानिन्छ । अहिले देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ । पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ । चितवनमा बिहीबारदेखि निरन्तर वर्षाका भइरहेको छ ।

नारायणगढस्थित नारायणी पुलमा जलसतहले सतर्कता तह नाघेको छ । यहाँको सतर्कता तह ११ मिटर रहेकामा जलसतह बढेर १२.७२ मिट पुगेको छ ।

तल्लो तहमा पनि नारायणी नदीको सतह खतराको तहमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । विभागको वेवसाइटले पानीको सतह निरन्तर बढिरहेको जनाएको छ ।

पछिल्लो २४ घन्टामा चितवनको त्रिशूली नदीको कालीखोलामा २७६.२ मिलिमिटर, कल्याणपुरमा २९१ मिलिमिटर, शक्तिखोरमा २३१.८ मिलिमिटर, नारायणी फिल्ड अफिस आसपास २४७.४ मिलिमिटर, झुवानीमा २३८ मिलिमिटर र देवघाटमा २४४.२ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा रहेको छ ।