म्याग्दी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने बताएका छन् ।
नेकपाकै तर्फबाट सभामुखको उम्मेदवारी दिनका लागि उपसभामुखको राजीनामा अनिवार्य भएको बताउँदै नेता श्रेष्ठले माघ ६ मा आह्वान गरिएको प्रतिनिधिसभा बैठक अगावै यस विषयले निष्कर्ष पाउने विश्वास व्यक्त गरे ।
प्रेस संगठन म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले दुई पार्टी मिलेर नेकपा बनिसकेको र पूर्वएमाले र पूर्वमाओवादी इतिहासमा मात्रै लेखिने र पार्टीको नियमित कार्यमा नजोडिने दाबी समेत गरे ।
त्यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् ।
नेपालको विद्युत प्रशारण लाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसिसीलाई संसदबाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भैरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय हुने बताएका हुन् ।
प्रवक्ता श्रेष्ठले पार्टीको सचिवालयले राष्ट्रिय स्वाधिनता र विकासलाई ध्यान दिएर यथार्थपरक ढंगबाट एमसिसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने बताए ।
‘अब लामो समयसम्म एमसिसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन,’ प्रवक्त श्रेष्ठले भने, ‘पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पु¥याउँछ ।’
प्रतिक्रिया