गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताएका छन् ।
गोरखामा शनिबार पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताए । “प्रधानमन्त्रीले वार्तामा आउन आह्वान गरेको कुरा सञ्चारमाध्यममा बाहिर आइरहेकै छ”, उनले भने , “सरकारको आधिकारिक निर्णयमा पनि प्रतिबन्ध भनेर भनिएको छैन ।”
उनले विप्लव समूहले जुनजुन संविधान विरोधी क्रियाकलाप गरिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने काम मात्र सरकारले गरेको बताउनुभयो । “बाहिर चर्चामा आए जस्तो सरकारले वार्ता गर्न चाहेन भन्ने कुरा सत्य होइनन्”, प्रवक्ता श्रेष्ठले भने, “सरकार वार्ता गर्न पनि तयार छ र संविधान विरोधी गतिविधि नियन्त्रण गर्न पनि ।”
प्रवक्ता श्रेष्ठले विप्लवको लक्ष्य राजनीतिक भए पनि उसको गतिविधि राजनीतिक हुन नसकेको टिप्पणी गर्नुभयो । “शान्तिपूर्ण बाटोबाटै समाजवादमा पुग्ने लक्ष्य हासिल गर्न सकिन्छ”, उनले भने, “तर उहाँहरु शान्तिसुरक्षामा खलल पु¥याउने, समाजमा अराजकता सिर्जना गर्ने उल्टो बाटो तिर लाग्नुभएको छ”, प्रवक्ता श्रेष्ठले विप्लवको गतिविधिले समाजवादमा पुग्ने बाटोलाई खलबल्याउने काम मात्र गरेको आरोपसमेत लगाए ।
प्रतिक्रिया