नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौं : अध्यक्ष विजुक्छें

नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौं : अध्यक्ष विजुक्छें

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताएका छन् ।

शुक्रबार भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको सुरुआत खेलकुदबाट गर्नुपर्ने बताए ।

अध्यक्ष विजुक्छेंले शारीरिक रूपमा स्वस्थ व्यक्तिले समाजका लागि धेरै काम गर्न सक्ने भन्दै त्यस्ता व्यक्ति विद्यालयबाटै तयार पार्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद महोत्सवको रूपमा सुरु गरेको प्रतियोगिता देशलाई आवश्यक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले आयोजना गरेको बताए ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ लगायतले खेलकुद देशका लागि हुनुपर्नेमा जोड दिए । कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा खेलकुदका विभिन्न १५ विधाका खेलका लागि ८४ वटा विद्यालयका २ हजार ८४६ खेलाडीले भाग लिने भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिए ।

प्रतियोगितामा विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल लगायत खेल हुनेछन् ।