काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी हप्ता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जाने भएका छन् ।
ब्रिक्स ५ प्रमुख उदीयमान अर्थ व्यवस्थाहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरी तयार पारिएको संक्षिप्त रूप हो ।
वासिङ्टन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीको बाबजुद भारतको मस्कोसँग लामो समयदेखि सुमधुर रहँदै आएको छ । मस्को र पश्चिमा मुलुकहरूसँगको सन्तुलित सम्बन्धका कारण भारतले युक्रेनमा रूसी युद्धको विरोध गरेको छैन । यसको सट्टा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानको मध्यस्थता गर्न मध्यस्थकर्ताको रूपमा भारतले आफूलाई प्रस्ताव गरेको छ ।
भारतीय विदेश मन्त्रालयले भोल्गा नदीको किनारमा रहेको कजान शहरमा हुने शिखर सम्मेलनमा भाग लिन मोदी २२ र २३ अक्टोबरमा रुस जाने जनाएको छ ।
गत जुलाईमा मस्कोको भ्रमण गरेका प्रधानमन्त्री मोदीको यो एकै वर्षमा हुन लागेको दोस्रो रूस भ्रमण हो । रूस भारतका लागि तेल र हतियारको महत्त्वपूर्ण आपूर्तिकर्ता हो । तर मस्को पश्चिमबाट अलग्गिनु र बेइजिङसँगको बढ्दो सम्बन्धका कारण नयाँदिल्लीसँगको रूसको साझेदारी प्रश्नचिह्न खडा भएको छ ।
युक्रेन युद्धले भारतलाई परम्परागत रूपमा यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता रूसको सट्टा हतियारका लागि अन्य स्रोतहरू खोज्न बाध्य पारेको छ ।
युरोपमा परम्परागत खरिदकर्ताहरूले छोडेको आवश्यक निर्यात बजारका लागि भारत रूसी कच्चा तेलको एक विश्वसनीय प्रमुख क्रेता बनेको छ । यसले नाटकीय रूपमा उनीहरूको आर्थिक सम्बन्धलाई पुनःसंरचना गरेको छ, भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन अर्बाैं डलर योगदान गरेको छ ।
सन् २००९ मा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी ५ सदस्य राष्ट्रको प्रारम्भिक अक्षरबाट स्थापित संगठनमा इरान लगायत मध्यपूर्वका देशहरूलाई पनि समेटिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले यसै महिना सम्मेलनमा २४ देशका नेता सहभागी हुने बताएका थिए ।
प्रतिक्रिया