यस्तो छ नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका

यस्तो छ नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा वैशाख २८ गते काठमाडौं आउने भएका छन् ।

प्रधानमन्त्री मोदीलाई सोही दिन टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्नेछन् । साथै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन् । नेपालमा रहँदा प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नेछन् । साथै काठमाडौं महानगरपालिकाले काठमाडौंमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा उनको नागरिक अभिनन्दन गर्नेछन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । सन् २०१४ मा उनी दुई पटक नेपालको भ्रमणमा आएका थिए ।

मोदीको भ्रमणलाई लिएर जनकपुर पोखरा र मुस्ताङमा तयारी तिव्र पारिएको छ । मोदीले मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा बिताउने छन् । केही समय पोखरा आउने कुरा सँगै पोखरामा उच्च सुरक्षा व्यवस्था गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताएका छन् ।

मुक्तिनाथ दर्शनका क्रममा प्रधानमन्त्री मोदी पोखरा आउने र केही समय भारतीय पेन्सन क्याम्पमा बस्ने छन् । मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी मुस्ताङमा प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको संयोजकत्वमा तीनवटै सुरक्षा निकायका प्रमुख रहेका सुरक्षा समितिले उच्च सुरक्षा प्रबन्धको काम शुरु गरिसकेको छ । भ्रमणलाई लक्षित गरी सरसफाइ, स्वागतद्वार निर्माण जस्ता कामलाई अघि बढाइएको छ ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर त्यहाँ पनि तयारी गरिएको छ । आठ वटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको छ । होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच गर्नेबारे छलफल भएको जानकारी दिए ।