सी–मोदी दोस्तीलाई सतर्कतापूर्वक हेर्दै साना मुलुक

सी–मोदी दोस्तीलाई सतर्कतापूर्वक हेर्दै साना मुलुक


काठमाडौ‌ – चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको हुप्रे प्रान्तको राजधानी उहानमा भएको अनौपचारिक भेटवार्ताले दुई देशबीचको आगामी दुई दशकको सम्बन्धलाई मार्गनिर्शेन गरेको विश्लेषण कूटनीतिज्ञहरूले गरेका छन्।

दुई कोरियाली नेताबीच ६५ वर्षदेखिको ‘दुश्मनीलाई दोस्ती’ मा बदल्ने प्रणसहितको भेटघाटले सी–मोदी वार्तालाई ओझेल पारे पनि यसले एसियाली उदीयमान यी दुवै मुलुकका लागि दीर्घकालीन प्रभाव छाड्ने कूटनीतिज्ञहरूको टिप्पणी छ। किनकि, यी दुवै देशले थुप्रै अन्तर्राष्ट्रिय साझा मञ्च प्रयोग गर्दै आएका छन्।

यही वर्षदेखि भारत पनि साङहाई सहयोग संगठनको पूर्ण सदस्य बनेको छ । यसभन्दा अगाडि ब्रिक्सलगायतका अन्य सशक्त मञ्चमा दुवै मुलुकले हातेमालो गर्दै आएका खबर आजको कान्तिपुर दैनिकमा चेतनाथ आचार्यले लेखेका छन्। ‘दुई हात्तीबीच प्रेम वा झगडा जे भए पनि किसानका लागि त्यो विनाशकारी हुन्छ’ भन्ने भनाइझैं चीन र भारतबीच बढ्दो मित्रतालाई नेपालसहित एसियाली साना मुलुकले सतर्कतापूर्वक हेरिरहेका छन्।

संयोग के भएको छ भने दुई महिनाबीच भारतीय प्रधानमन्त्री मोदीले दोहोर्‍याएर चीनको भ्रमण गर्दैछन् । हाल चीन भ्रमणमा रहेका मोदी आगामी जुनमा साङहाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन फेरि चीन आउँदैछन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका प्राध्यापक स्वरन सिंहले सी र मोदीबीचको भेटले दुई दशकसम्म चीन–भारत सम्बन्धको विस्तारलाई मार्गनिर्देशन गर्ने बताए।

विशेष गरी दक्षिण एसियाली मुलुकहरूमा भारतीय प्रभाव छ । ती मुलुक चिनियाँ लगानी र द्विपक्षीय व्यापारले चीनसँग पनि निकट बनेका छन् । नेपाल, माल्दिभ्स, श्रीलंका, बंगलादेशलगायतका मुलुकमा चीनको बढदो लगानीले भारत झस्किनु स्वाभाविक हो। यस्तो अवस्थामा विश्वको दोस्रो आर्थिक शक्तिसँग मित्रताको हात बढाउन अहिले मोदी अग्रसर भएका हुन् । लगातार दुई दिन चिनियाँ राष्ट्रपति सीसँग ‘लन्च मिटिङ’ गरेका मोदीले आफू सी र चिनियाँ संस्कृतिबाट प्रभावित भएको बताएका छन् ।

मोदीले शनिबार पनि सीसँग उहानमा भेटवार्ता गरे । चीनको मध्य भागमा पर्ने हुपै प्रान्तको सदरमुकाम उहानमा भएको भेटमा राष्ट्रपति सीले दुई देशबीचको दिगो विकास हुने आधार नै आपसी विश्वास रहेको बताए । चीन र भारतको सम्बन्धमा आपसी समझदारी र विश्वासलाई बढाउँदै लग्नुपर्ने बताउँदै उनले भने, ‘विभिन्न तहका भ्रमण आदानप्रदानसँगै जनस्तरमा रहेको आपसी बुझाइ गहन पारेर मैत्रीपूर्ण भावना तयार गर्नुपर्छ ।’ भविष्यमा दुई मुलुकले चौतर्फी सहयोगको योजना अघि सार्नुपर्ने धारणासमेत उनको थियो।

राष्ट्रपति सीले जनस्तरमा आपसी समझदारी हुनुपर्ने भनेर भारतमा भएको चीनविरोधी धारणाप्रति संकेत गरेका हुन् । विशेष गरी भारत भ्रमणमा जाने चिनियाँ नागरिकले असुरक्षित महसुस गर्ने गरेको घटना बारम्बार आउने गरेको छ । सीले मोदीसँगको भेटमा चीन–भारत सम्बन्धमा तीन बुँदा प्रस्तुत गरेका थिए।

दुई देश राम्रा छिमेकी र साथी भएकाले आपसी सम्बन्ध विश्वलाई सकारात्मक परिवर्तन गराउन सक्रिय कारक बन्नेमा दुवै नेता सहमत भएका छन् । एसियाको युगमा विश्वलाई ल्याउने आफ्नो सपना साकार पार्न भारत सहयोगात्मक साझेदार बन्नुपर्ने सीले पहिलो बुँदामा उल्लेख गरेका थिए । सीले चीन र भारत दुवै उदीयमान आर्थिक शक्ति रहेको र दुवै ठूला विकासशील मुलुक रहेकाले मोदीको भ्रमणबाट आपसी सहयोग बढाउन महत्त्वपूर्ण अवसर प्राप्त भएको र त्यसलाई सदुपयोग गर्नुपर्ने कुरा दोस्रो बुँदामा राखेको उनको सचिवालयले उल्लेख गरेको छ।

चीन र भारत दुवैले स्वतन्त्र कूटनीति लागू गरेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपति सीले सकारात्मक, खुला र सहिष्णु दृष्टिकोणबाट आपसी योजनाको उचित विश्लेषण र विचार गर्नुपर्ने तेस्रो बुँदामा उल्लेख गरेका छन् । प्रत्युत्तरमा प्रधानमन्त्री मोदीले दुई दिनमै आफूमा चीनको गहिरो प्रभाव परेको बताए । मोदीले चिनियाँ राष्ट्रपति सीसँग दुईदिने वार्ताका क्रममा आफूलाई उनको व्यक्तित्व र चिनियाँ संस्कृतिले ‘अमिट छाप’ छाडेको भन्न भ्याए।

‘तपाईंसँग मैले सदिच्छापूर्ण र गहिरो रूपमा वैचारिक आदानप्रदान गर्नुका साथै व्यापक चिनियाँ संस्कृतिको अनुभव गर्न पाएँ । दुई देशको सम्बन्धमा तपाईंले दिएको उच्च महत्त्व पनि अझ बढी अनुभव गरेको छु,’ मोदीले भने, ‘भारत र चीन दुवै प्राचीन सभ्य मुलुक हुनुका साथै आपसी महत्त्वपूर्ण छिमेकी हुन्।’

दुवै देशले वार्ता, भ्रमण आदानप्रदान र सहयोगलाई सबल पारेर शान्तिपूर्ण सहअस्तित्व तथा युगौं युगको मित्रता कायम राख्नुपर्ने जोड मोदीको थियो । सामान्य र शिष्ट कूटनीतिका रूपमा चिनियाँ राष्ट्रपति सीले राखेका तीन बुँदाले चीन र भारतलाई मैत्रीपूर्ण ट्रयाकमा ल्याउन काम गर्ने विश्लेषकहरूले बताएका छन्।