अवको पांच वर्ष केपी ओली नै प्रधानमन्त्री बन्नुहुन्छ : नारायणकाजी श्रेष्ठ

अवको पांच वर्ष केपी ओली नै प्रधानमन्त्री बन्नुहुन्छ : नारायणकाजी श्रेष्ठ


सिरहा-  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन्  सिरहाको कर्जन्हामा कम्युनिष्ट नेता जयगोविन्द साहको २९ औं स्मृतिसभामा नेता श्रेष्ठले सरकार परिवर्तनको हल्ला निराधार रहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । केपी ओलीले नै वर्तमान सरकारको पाँच वर्ष नेतृत्व गर्ने उनको भनाइ छ ।

‘नेताहरुबीचको मतभेदका कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको होला’, उनले भने, ‘तर, सरकार परिवर्तन हुँदैन, परिवर्तनको कुनै सम्भावना छैन ।’ सरकारको कामकारबाहीमा शतप्रतिशत सन्तुष्टि हुन नसकिने स्वीकार गर्दै श्रेष्ठले तर, सरकार गलत बाटोमा नरहेको जिकिर गरे । श्रेष्ठले दुई तिहाइको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए । वर्तमान सरकार असफल हुँदा परिवर्तनको प्रक्रिया नै असफल हुने र राष्ट्रियता कमजोर हुने उनको भनाइ थियो ।

‘यो सरकार असफल भयो भने नेपाल कम्युनिस्ट पार्टी मात्रै असफल हुँदैन, श्रेष्ठले भने, ‘नेपालको परिवर्तनको प्रक्रिया असफल हुन्छ । नेपाली राष्ट्रियतामाथि थप कुठारघात नहुन नदिन यो सरकारलाई असफल हुने छुट छैन ।’ उनले सरकारको कामकारबाहीमा शतप्रतिशत सन्तुष्टि हुने ठाउँ नभए पनि कम्युनिष्ट पार्टी नेतृत्वकै सरकारले मुलुकमा समृद्धि कायम हुने दाबी गरे । फरक प्रसंगमा श्रेष्ठले संविधान कार्यान्वन गर्दै जाँदा कतिपय प्रावधान संशोधन गर्न सकिए पनि राष्ट्रिय अखण्डतालाई चुनौति दिने तथा मुलुक विखण्डन गर्न खोज्ने प्रवृत्तिलाई सहन गर्न नसकिने स्पष्ट गरे । श्रेष्ठले मुलुक विखण्डन चाहने तत्वविरुद्ध नेकपा दृढ भएर प्रतिकारमा उत्रने चेतावनी दिए ।