राष्ट्रियसभा बैठक : विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारकाे ध्यानाकर्षण

राष्ट्रियसभा बैठक : विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारकाे ध्यानाकर्षण


काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले विकास निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विकास निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्नेगरी अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था गर्न माग गरे ।

सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला गरेकाले जनताले सास्ती झेल्नुपरेको भन्दै समयमा काम नसक्नेलाई कारवाही गर्न माग गरे । सांसद दिलकुमारी रावलले समृद्ध राष्ट्र निर्माणका लागि विकास निर्माणलाई प्रभावकारी बनाउन आगामी बजेटमार्फत विकास निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिर्इन् ।

सांसद राधेश्याम अधिकारीले दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीलाई बधाई दिदैं काठमाडौँ उपत्यका र काठमाडौँ बाहिर जाने सडक विस्तार कार्य अझै नसकिएको र विस्तार भएका सडक अहिलेसम्म निर्माण हुन नसक्दा जनताले कठिनाइ भोग्नु परेको हुँदा यसप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । रासस