दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’


काठमाण्डु – संविधान दिवसका अवसरमा बिहीबार काठमाण्डुको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको हो । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरू प्रस्तुत हुने जनाइएको छ । समारोहमा आतिसबाजी गरेर संविधान दिवसको उल्लास छरिने छ ।

समाजमा योगदान गरेका १५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा हुने कार्यक्रम ४ घण्टासम्म चल्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा कुटुम्ब ब्यान्ड लगायत कलाकारहरू आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कन्सर्टमा बिहीबार साँझ प्रधानमन्त्री केपी ओली समेत सहभागी हुनेछन् । कार्यक्रममा राष्ट्रिय भावनाले प्रेरित १६ वटा गीत प्रस्तुत गरिने थियो ।

‘नेसनल डे कन्सर्ट’को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्ण्डुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

सो क्षेत्र भएर आवतजावत हुने सवारीसाधनलाई बिहीबार राति ८ बजेसम्मका लागि डाइभर्ट गरिएको छ भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ तोकिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।