राष्ट्रिय सुरक्षा परिषद्को बैठक, सुरक्षा नीतिबारे छलफल

राष्ट्रिय सुरक्षा परिषद्को बैठक, सुरक्षा नीतिबारे छलफल


काठमाडौं – राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, राष्ट्रिय सुरक्षा नीति र उक्त सचिवालयको सृदृढीकरणबारे छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवास्थित परिषद्को सचिवालयमा आइतबार उक्त बैठक बसेको थियो।

परिषद्को अघिल्लो बैठकले राष्ट्रिय सुरक्षा नीति २०७३ परिमार्जन गर्ने निर्णय गरेको थियो। उक्त नीति परिमार्जनका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञ सम्मिलित समिति गठन गरिएको थियो।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने सवैधानिक व्यवस्था छ। परिषद्मा सरकारका रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षामन्त्रालयका सचिव सदस्य-सचिव भई काम गर्ने व्यवस्था छ।