काठमाडौं – यातायात मन्त्रालयकाे निर्णय अनुसार यातायात विभागले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ र समितका सबै काउन्टर बन्द गर्ने निर्णय गरेकाे छ । विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो ।
गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । अाबश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले निर्देशन दिएका हुन् ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।
यातायात समिति खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका व्यवसायीहरुले देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै आज देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन हडतालको तयारी गरेका छन्।
प्रतिक्रिया