वार्डडबडी काण्डबारे निश्पक्ष छानबिन हुनुपर्ने कांग्रेस नेता महतको माग

वार्डडबडी काण्डबारे निश्पक्ष छानबिन हुनुपर्ने कांग्रेस नेता महतको माग


काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘सँधै संसद अवरोध हुँदैन् । एक\दुई दिन अवरोध भयो भन्दैमा सँधै संसद अवरोध हुँदैन् । उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं ।’

नेता महतले कांग्रेसले आफ्नो पार्टीका दुई जना नेता गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएको अस्पताललाई लिएरमात्रै कांग्रेसले विरोध नगरेको जिकिर गरे । उनले भने,‘अहिले त सरकारले यी दुवै अस्पताल संघीय सरकारकै मातहातमा रहने निर्णय गरेको छ ।’

आफूहरुले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता तथा सहमति कार्यान्वयन नगरेको र जबरजस्ती संसदबाट विद्येयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरेको महतले स्पष्ट पारे । उनले भने,‘सभामुखले पनि विवादस्पद भूमिका खेल्नुभयो । कांग्रेसको विरोधका बावजुदपनि विद्येयक जबरजस्ती पारित भयो ।’

त्यस्तै उनले वार्डडबडी भ्रष्टाचार काण्डबारे पनि निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘यसमा दोष कसको छ ? के छ ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ । यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुपर्यो । अन्त्यमा त अदालत जान्छ । यसमा अविलम्ब निश्पक्ष तवरले छानबिन होस् । हामी यो अडानमा पछि परेका छैनौं ।’

उनले ईकोनोमिक फ्रन्टमापनि सरकार असफल भएको दाबी गरे । महतले थपे,‘खाली चाहीँ आकाशे कुरा, वायुपंखी घोडा चढ्नेमात्रै कुरो, हावादारी कुरामात्रै गरेर हुँदैन् । आफ्ना आचरण, व्यवहार, सही नीति र कार्यान्वयन कसरी भएको छ ? त्यसरी चाहीँ देशलाई अगाडि बढाउन सकिन्छ । हामी अहिले एउटा चूनौतिपूर्ण अवस्थामा छौं ।’