काठमाण्डु – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सामाजिक पहलमा २० करोड योगदान गर्ने भएको छ ।
एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ ।
‘विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढीको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,’ वार्षिकोत्सव मनाउन मंगलबार आयोजना गरिएको विशेष कार्यक्रमका दौरान एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दीगो नेपाल विकासमा सघाउनु र दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताइएको छ । फाउन्डेसनका उद्देश्यहरूमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दीगो र समृद्ध नेपाललाई बढावा दिने रहेका छन् ।
एनसेलले बृहत्तर हितको पक्षमा सामाजिक कार्यहरू गरेको उल्लेखनीय ट्रयाक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ । आफ्ना परिवारजन तथा आफन्तसँग सम्पर्कमा रहिरहन कम्पनीले ग्राहकहरूलाई १ अर्ब ६० करोड बराबरको सेवासुविधाहरू निःशुल्क उपलब्ध गराएको थियो ।
कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग उपलब्ध गराएको थियो । भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयलाई कक्षाकोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।
२०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो ।
१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
‘एनसेलले टावरहरू राख्ने, मानिसहरूलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दीगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिमअनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रूपमा स्थापित हुने लक्ष्यसहित अगाडि बढेको कम्पनी पनि हो एनसेल,’ जाब्बोरले भने ।
कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ ।
‘१ वर्षअघि एनसेलको वार्षिकोत्सवको अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग भेट गरी हामी तपार्इंहरूको संस्थामार्फत पारा खेलाडीहरूको विकासका लागि सहयोग गर्न चाहन्छौं भन्दा उहाँहरूले विश्वास नै गर्न सक्नुभएको थिएन । यो एक नितान्त सामाजिक पहलअन्तर्गत जहाँ सहयोग पुगेको छैन, त्यो क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य अनुरूप गरिएको सहकार्य थियो,’ जाब्बोरले भने ।
आफ्नो ब्राण्ड वाचा ‘आज, भोलि सधैं सँगै’ र एनसेल फाउन्डेसनको शुभारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरूका साथ धेरैभन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।
एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कूल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिनेछन् र प्रत्येक आयोजनाले १० लाख सीड फन्डको रूपमा सहयोग प्राप्त गर्नेछन् ।
गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् ।
सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ ।
‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरू, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोर्याउन हामी तत्पर छौं,’ जाब्बोरले भने ।
नेपालको एक ठूलो करदाताको रूपमा एनसेलले आफ्नो स्थापनाकालदेखि आजसम्म ३२० अर्बभन्दा बढी सरकारलाई कर तथा शुल्कहरू बुझाइसकेको छ । नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ ।
सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्याण्डदेखि प्वाइन्ट टू प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टर सेवासहित नेपाली व्यवसायहरूलाई उनीहरूका सञ्चार आवश्यकताहरू पूरा गर्न नवीनतम सेवाहरू प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।
१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरू जस्तैः वृक्षरोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ । एनसेल व्यवस्थापनका उच्च पदस्त अधिकारी र अन्य कर्मचारीहरू ग्राहकहरूसँग अन्तर्क्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्नेछन् ।
प्रतिक्रिया