काठमाण्डु – एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुरूप २ हजार ६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
यी सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिनेछन् । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कूल ६५३ चौका हानिका थिए । यसबापत एनसेल फाउन्डेसनले अब घोषणा गरेबमोजिम कूल २ हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्ने पक्का भएको छ ।
क्रिकेटदेखि कक्षा कोठासम्मको नविन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरू जस्तै स्कूल ब्याग, कापी, सिसाकलम, इरेजर, कटर लगायतका स्टेशनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कूल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए, जसबाट १२० शैक्षिक सामग्री र तेस्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेल २६ चौकाबापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का भएको छन् ।
चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए ।
‘क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले एनपीएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसी छौं र यसको लागि हामी क्रिकेट एशोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं । शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टीमहरू अन्य सरोकारवालाहरूसँग सहकार्य गर्नेछौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्नेमध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा अझै रोमाञ्चकता थपेको थियो । यसले सहयोग र स्रोत बढी आवश्यकता भएकाहरूसम्म आवश्यक सहयोग पुर्याउँन मद्दत गर्दछ । सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामाग्रीहरू पुर्याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।
कोशेढुङ्गा सावित भएको एनपीएल नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरूको निर्माणमा गर्न सहयोगीसिद्ध भएको एनसेलले जनाएको छ । एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरूप रहेको थियो । एनसेल फाउन्डेसन महत्त्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध छ ।
प्रतिक्रिया