‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’बाट बन्दना शर्मा सम्मानित

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’बाट बन्दना शर्मा सम्मानित


काठमाण्डु – सूचना प्रविधि क्षेत्रमा क्रियाशिल रहेर उल्लेख्य योगदान पुर्‍याउने बन्दना शर्मालाई यस वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ ।

हालै सम्पन्न आईसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई अवार्डबाट सम्मानित गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ संयुक्त रूपमा शर्मालाई प्रदान गरेका थिए ।

नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छन् ।

नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यस क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएका महिलालाई अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत ५ वर्षदेखि आईसीटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यस वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् ।

‘सूचना प्रविधिको क्षेत्रमा प्रदान गरिने यो एक महत्त्वपूर्ण सम्मानका लागि विशेष गरी एनसेल फाउन्डेसनलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यो अवार्ड मेरो मात्र सम्मान होइन, समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरिरहेका हरेक महिलाको सम्मान हो र यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि एक आशा हो,’ अवार्ड विजेता शर्माले भनिन् ।

यसअघि सन् २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ मा शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेषगरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरू गरेको जनाइएको छ ।

‘महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन र यस क्षेत्रमा उनीहरूको योगदानको कदर गर्न यो सहकार्यलाई निरन्तरता दिन पाएकोमा हामी खुशी छौं । डिजिटल रूपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४ की विजेता बन्दना शर्मा लगायत सम्मानित भएका उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरू सबैलाई बधाई छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

यस वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिइन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छन् ।

पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटीमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । वित्तीय समावेशिता र स्टेम एजुकेसनमा उनको योगदान छ ।