काठमाण्डु– एनसेलले यही १६ चैतदेखि सुरु हुने बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) का अवसरमा काठमाडौं लैनचौर खेलमैदानमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । ३ टिमको सहभागिता रहेको खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ ।
सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पूर्व राष्ट्रिय खेलाडी तथा भेटेरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडेलहरूको टिमबीच भएको थियो । यसमा एनसेल टिमले गुरुङको टिमलाई २–१ गोल अन्तरले हराएको थियो ।
एनसेल एनएसएलका अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार मञ्च (एनएसजेफ) र एनसेल टिमबीच भएको थियो । यस खेलमा नेपाल खेदकुद पत्रकार पञ्चले एनसेल टिमलाई २-० ले पराजित गर्यो ।
शनिबारदेखि सुरु भई १३ वैशाख २०८२ मा फाइनल हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रूपमा आबद्ध रहेको छ ।
यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘एनएसएलसँग एनसेलको यो सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’ मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने कुरामा हामी विश्वस्त छौं,’ एनसेलका चिफ कमर्सियल अफिसर उमर मोहसिनले भने ।
एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ ।
कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फ लगायतका खेल र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।
एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ । विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो । प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले योगदान पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया