काठमाण्डु – विद्युत प्राधिकरणमा पछिल्लो समय रमिता देखिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएका छन् । तर, मन्त्री खड्काले हटाएका आचार्य र पुनलाई प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज बस्ने बैठकका लागि बोलाएका छन् ।
नेकपा एकीकृत समाजवादी कोटाबाट नियुक्त आचार्य र नेकपा माओवादी केन्द्र कोटामा नियुक्त पुनलाई मन्त्री खड्काले इमेल पठाएर पदमुक्त भएको जानकारी दिए पनि प्रबन्ध निर्देशक घिसिङले बैठकमा बोलाएका छन् ।
मन्त्री खड्काले इमेल पठाएर आफूहरूलाई पदबाट हटाएको जानकारी गराएको र प्रबन्ध निर्देशक घिसिङले बैठकमा बोलाएको आचार्यले जानकारी दिए ।
ट्रंक र डेडिकेटेड लाइनको २२ अर्ब बक्यौता उठाउने विषयको विवादमा सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेपछि मन्त्रालयले सञ्चालकद्वयलाई स्पष्टीकरण सोधेको थियो ।
मन्त्री खड्काले साउन १८ गते सञ्चालकद्वय आचार्य र पुनलाई पदमुक्त गरेका हुन् ।
घिसिङले आइतबार साँझ बस्ने बैठकमा आफूहरूलाई बोलाएको आचार्यले बताए ।
प्राधिकरण सञ्चालक समितिको बैठकमा विवादमा विद्युत काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गर्दा सञ्चालकद्वय पुन र आचार्यले फरक मत लेखेका थिए ।
प्रतिक्रिया