काठमाडौं – नेपाल विद्यार्थी संघको कार्यसमितिको कार्यकाल आजबाट सकिएको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई महिनाका लागि म्याद थपिएको नेपाल विद्यार्थी संघको कार्यसमितिको कार्यकाल आज सकिएको हो ।
विधानमा एक पटक मात्र तीन महिना म्याद थप्न सकिने व्यवस्था भएपनि महाधिवेशन हुन नसकेपछि विधान विपरित राजनीतिक निर्णय भन्दै फेरी दुई महिना म्याद थपिएको थियो । थपिएको समयसीमा भित्र पनि महाधिवेशन हुन सकेन । तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएपछि केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले यसअघि नै राजीनामा दिइसकेका छन् ।
संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुई वटा विकल्पमध्ये अधिकांश नेताहरु समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएको भन्दै तदर्थ समितिको पक्षमा रहेको बताइएको छ । अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै तदर्थ समितिको नेतृत्वका लागि पनि विद्यार्थी नेताहरुले दौडधुप शुरु गरेका छन् ।
सभापति देउवानिकटका राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन् भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी देखिएका छन् । त्यसैगरी सिटौला पक्षबाट सुशील भटट्, बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्लेलगायतले अध्यक्षको दावी गरेका छन् ।
नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ । त्यसैगरी संगठन लथालिङ्ग भएको, सदस्यता वितरण देखि कुनै गतिविधि गर्न नसकेको, देशमा जघन्य अपराधका घटना हुदा पनि आन्दोलन गर्न नसकेको, शैक्षिक कालोबजारी देखि विद्यार्थीहरुको मुद्दामा चुकेकोलगायतका अहिलेको नेतृत्वबाट हुन नसकेका कामहरु पनि नयाँ नेतृत्वको मुख्य जिम्मेवारी हुनेछ ।
प्रतिक्रिया