काठमाण्डु – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको छ । नेविसंघले त्रिविको उपकुलपति र राजिष्ट्रारको शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको हो ।
त्रिविले आवश्यक तयारी बिना परीक्षा तालिका सार्वजनिक गरेको र विकल्प नखोजी परीक्षा रद्द गरेकाले आक्रोशित विद्यार्थीले तोडफोड गरेको नेविसंघ आरआरका सचिव अनुराग शाहले जानकारी दिए ।
‘कोरोना भाइरसको महामारीमा परीक्षाको तालिका सार्वजनिक गर्ने अनि तत्कालै परीक्षा रद्द भएको नोटिस निकालेर विद्यार्थीलाई मानसिक तनाव दिने काम गरेकाले हामीले त्रिविलाई विकल्प खोज्न आग्रह गरेका थियौं’, उनले भने, ‘जथाभावी नोटिस निकालेर विद्यार्थीको मनोविज्ञानमा असर पार्ने काम गरेकाले केही विद्यार्थी साथीहरु आक्रोशमा आउनु भएको हो ।’
तोडफोडबाट उपकुलपतिको कार्यालयको गाडी र कार्यालयका झ्यालका सीसा फुटेका छन् । उनले आफ्ना विद्यार्थीमाथि मुद्दा चलाएको विरोधमा त्रिविमाथि आक्रमण नगरिएको प्रष्ट पारेका छन् ।
त्रिविले नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलविरूद्ध साउन १६ गते पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । सोही विषयलाई लिएर नेविसंघका विद्यार्थीहरुले तोडफोड गरेको समाचार बाहिर आएका छन् ।
प्रतिक्रिया