यी हुन् नेदरल्याण्ड्ससँग नेपालले हार्नुका ६ कारण

यी हुन् नेदरल्याण्ड्ससँग नेपालले हार्नुका ६ कारण


काठमाण्डु- आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भयो । अमेरिकाको डालास शहरस्थित ग्राण्ड प्रेरी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भयाे ।

नेपालले जितका लागि प्रस्तुत गरेको  १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बलअघि नै पूरा गर्‍यो । टी २० विश्वपकमा आफ्नो पहिलो खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा पनि नेपाल जित निकाल्न यी कारणले चुक्योः

नेपालका ब्याट्सम्यानको खराब प्रर्दशन

नेदरल्याण्ड्ससँग हार्नुको मुख्य कारण नेपालका ब्याट्सम्यानको खराब प्रर्दशन हो । नेपालका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न नसकी निराशजनक प्रर्दशन गरे ।  नेपाली ब्याटरले खेलेका खेलेका ११६ बलमध्ये ६५ डट बल थिए । त्यो डटको आधामा मात्रै सिंगल रन जोडेको भए पनि नतिजा नेपालको पक्षमा आउन सक्थ्यो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा पाँच चौका प्रहार गरे। अर्कोतर्फ इनिङको मध्यभागमा लगातार विकेट खसेपछि उनले राम्रो साथ पाउन सकेनन् । पौडेल बाहेक अन्य ब्याट्सम्यानले निराशजनक प्रदर्शन गरे ।

नेपालले सुरुवातमै दुई विकेट गुमायाे । नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्रै गुमाएको थियो । खराब सुरुवातपछि कप्तान रोहित पौडेल एकतर्फ डटेर क्रिजमा रहिरहे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

ओपनर आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा क्याच आउट भए । उनले ८ बलमा ४ रन बनाए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए । आशिफ ४ र भुर्तेल ७ रनमा आउट भएपछि बिग्रिएको नेपालको लय खेलभर नै सुध्रिन सकेन । त्यसपछि अनिल शाहले १२ बलमा २ चौका सहित ११ रन बनाएर आउट भए ।

केहि आशा लाग्दो सुरुवात गरेका कुशल मल्लले पनि ठुलो स्कोर बनाउन सकेनन् । उनी ९ रन बनाएपछि क्याच आउट हुन पुगे । सबैभन्दा बढी उत्कृष्ट प्रदर्शनको आश गरिएका दीपेन्द्र १ रन बनाएर फर्किए ।

सोमपाल कामीलाई १४औँ ओभरमा भ्यान मिकरनले शुन्यमा बोल्ड गरे । त्यस्तै करण केसीले केहि विष्फोटक अन्त्य गर्ने प्रयास गरे । १२ बलमा २ छक्कासहित १७ रन बनाएर उनी १९ औँ ओभरमा आउट भए । गुलशनले १५ बलमा १४ रन बनाएर बोल्ड आउट भए । अविनाश बोहोरा शून्यमा बोल्ड भए ।

कमजोर फिल्डिङ

नेपालले नेदरल्याण्ड्ससँगको खेलमा फिल्डिङ अत्यन्तै कमजोर गर्‍यो । नेदरल्याण्ड्ससँग नेपाल पराजित हुनुकाे एउटा कारण यो पनि हो । दुई टीमबीचको खेलको विश्लेषण गर्दा फरक फिल्डिङ देखियो । दुइटै टिमका ब्याट्सम्यान चल्न सकेका थिएनन् भने, दुबै टिमका बलरले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

नेदरल्यान्ड्सका फिल्डरले फिल्डिङ उत्कृष्ट गरे । उनीहरुले कुनै पनि क्याच छुटाएनन् । यता नेपालका खेलाडीले भने फिल्डिङ कमजोर गरे । उनीहरूले तीन वटा क्याच छुटाउनुका साथै एउटा रनआउटको अवसर पनि गुमाए । यस्तै, एक रनमा रोक्न सकिने केही बलहरू फिल्डरको कमजोरीले चौका हुन पुगे ।

१७ ओभरपछि सम्हालिन नसक्नु

१७ ओभरको खेल समाप्त हुँदा नेदरल्यान्ड्सले ४ विकेट क्षतिमा ८८ रन मात्र बनाएको थियो । नेदरल्यान्ड्सलाई जितका लागि १८ बलमा १९ रनको आवश्यक थियो । स्लो पीचमा नेदरल्यान्ड्सका ब्याट्सम्यानहरुलाई रन बनाउन त्यति सहज भइरहेको थिएन । ब्याट्सम्यानहरूले चौका र छक्काका हिर्काउन सकिरहेका थिएनन् ।

ब्याट्सम्यानहरुले एक रनका लागि संघर्ष गर्न परिरहेको थियो । नेपाली बलरहरूले ब्याट्सम्यानहरुलाई दबाबमा राखेका थिए । तर, नेपाली खेलाडी १७ ओभरपछि सम्हालिन सकेनन् । नेदरल्यान्ड्सको ब्याटिङ म्याक्स ओ डाउडमै निर्भर थियो । उनी १७ ओभरको खेल सकिँदा ४२ बलमा ४० रन बनाएर खेलिरहेका थिए ।

यदि डाउड आउट भएको भए खेलको अवस्था नै बदलिन्थ्यो । नयाँ आउने ब्याट्सम्यानले खुलेर खेल्न सक्दैनथे । खेलको परिणाम बदलिन सक्थ्यो । तर नेपालका कप्तान राहित पौडेलले नै क्याच गर्न नसकेर डाउडलाई जीवनदान दिए । त्यस ओभरका बाँकी ४ बलमा नेदरल्यान्ड्सका ब्याट्सम्यानले चार रन दौडिएर लिए ।

त्यसपछि १९ औँ ओभरको पहिलो र दोस्रो बलमा डाउडले अविनाश बोहरालाई लगातार बलमा चौका र छक्का हान्दै खेल आफ्नो पोल्टामा ल्याउन सफल भए। डाउडले ४८ बलमा  एक छक्का र चार चौका प्रहार गरी अविजित ५४ रन बनाए ।

बलरको प्रयोगमा कप्तान चुके

कप्तान रोहित बलरको प्रयोगमा पनि चुकेको देखियो । नेपालसँग भएका बलरलाई उपयुक्त समयमा उनले प्रयोग गर्न सकेनन् । उनी नियमित फ्रन्टलाइन बलरमै निर्भर बने । फ्रन्टलाइन बलरले रन त रोकिरहेका थिए, तर विकेट समयमा लिन सकेका थिएनन् ।

यस्तोमा रोहितले अन्य बलरलाई खेलाउन सक्थे । रोहित अन्य बलरतर्फ गएनन् । उत्कृष्ट बलिङ गर्दै एक विकेटसमेत लिएका दीपेन्द्रलाई उनले दुई ओभर मात्रै खेलाए । नेपाल विकेटको खोजीमा रहँदा कुशल भुर्तेल, कुशल मल्ल र आफू स्वयमले बलिङ नै गरेनन् ।

पिचको अवस्था नबुझ्नु

नेपालले हार्नुको मुख्य कारण ग्राण्ड प्रेरी मैदानका पिच कन्डिसन बुझ्‍न नसक्नु पनि एक हो । यदि नेपालले पिच कन्डिसनलाई बुझेको भए नेपालले धेरै रन बनाउन सक्थ्यो। पिचमा स्वींङ बढी भइरहेको थियो ।

जनु नेपाली ब्याट्सम्यानले बुझ्‍न सकेनन् । स्लो पीचमा दुबै टोलीका ब्याट्सम्यानलाई रन बनाउन असहज भइरहेको थियो । लामो सट खेल्न खोज्दा नेपाली ब्याट्सम्यान क्याच आउट भइरहेका थिए ।

मौसमले साथ नदिनु

ग्राण्ड प्रेरी मैदानमा बिहानैदेखि सिमसिमे पानी परिरह्यो । त्यसपछि पारिलो घाम लाग्यो । जसले गर्दा नेपाल र नेदरल्याण्ड्सबीचको खेलको टसमा ढिलाइ भयो । वर्षाले मैदान भिजेका कारण टसमा ढिलाइ भएको थियो । वर्षा नभएपनि मैदानमा पानी रहेका कारण टसमा ३० मिनेट ढिलाइ भएको थियो ।

खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु भयो । मौसमको यो दुवै रूप नेपाललाई सुहाउँदो भएन। बिहानको चिसो मौसमले ब्याटिङ गर्न नेपाली ब्याट्सम्यानलाई बाउन्ड्र हिर्काउन सहज भएन ।

जसकारण ब्याट्सम्यानले बाउन्ड्री हिर्काउन खोज्दा क्याच आउट हुन पुगे । त्यस्तै दिउसोको चर्केको घामले नेपाली बलरलाई बलिङ सहयोगी बनेको देखिएन। टस जितेको नेदरल्यान्ड्सको लागि भने मौसम सुहाउँदो बन्न पुगेको थियो ।