काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्रयाटजी’ लाई चीनलाई घेरा हालेर कमजोर पार्ने सैन्य रणनीति भएको बताएको छ ।
बुधबार राजधानीमा सुरु भएको नेकपाको केन्द्रीय समितिको दोस्रो बैठकमा दुई अध्यक्षकातर्फबाट पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमा यस्तो बताइएको हो ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को प्रशंसा गरिएको प्रतिवेदनमा इन्डो–प्यासिफिकको भने आलोचना गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘आज चीनले अघि सारेको बिआरआईले विश्वव्यापीरुपमा आफ्नो कनेक्टीभिटी र आर्थिक साझेदारीको रणनीतिको रुपमा काम गरिररहेको छ । नेपालले पनि बिआरआईमा हस्तक्षार गरी आफूलाई त्यो सम्बन्ध र सहयोग विस्तारको साझेदार बनाएको छ ।’
प्रतिवेदनमा भनिएको छ, ‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकक्षत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ । यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डोप्यासिफिक रणनीति अगाडि बढाइरहेको छ ।’
प्रतिवेदनमा नेकपा र नेकपाको सरकार कहिल्यै कुनै बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुनपनि नसक्ने बताइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी र सरकारले आफू कुने पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने कुरा स्पष्ट छ । यदी सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारका कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्दैन ।’
प्रतिक्रिया