काठमाडौं – पार्टी केन्द्रिय कार्यालय धुम्बराहीमा नेकपाको स्थायी कमिटीको बैठक बुधबार पनि जारी रह्यो । झण्डै तीन घण्टा चलेको उक्त बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प क“डेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक मानिएका नेताहरुले नै एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको चर्को आलोचना गरेका छन् । सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायताले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।
पहिलो दिन नै बोलेका अग्नि सापकोटाले नेतृत्वले सार्वजनिक रुपमै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए भने मंगलबार लिखित धारणा राखेका भीम रावल युनिभर्सल पिस फाउन्डेसन, उसका गतिविधिबारे ५ पृष्ठ लामो चर्चा गर्दै नेतृत्वले सम्मेलनमा सहभागी भएर शिर निहुराएको टिप्पणी गरेका छन् । बैठक बिहिबार पुन बस्नेछ ।
प्रतिक्रिया