नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बुधबारको बैठकले नियमावली टुंगो लगाउने अनुमान छ ।

पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको हो ।नियमावली नहुंदा पार्टीको सांगठनिक एकीकरण प्रक्रियाले गति लिन सकेको छैन ।

बुधबार नियमावली पारित भएपछि तत्कालीन एमाले र तत्कालीन माओवादीका जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिइने नेताहरुले बताएका छन् । स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।