नेकपाको सचिवालय बैठकले गर्यो कार्यदल विघटन

नेकपाको सचिवालय बैठकले गर्यो कार्यदल विघटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले एकीकरणको टुंगो लगाउन गठन गरेको कार्यदल विघटन गरेको छ । सचिवालयको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल विघटन गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो।कार्यदलले आफ्नो म्याद एक हप्ता थप गर्न आग्रह गरेको थियो, तर बालुवाटारमा बसेको सचिवालय बैठकले त्यसलाई अस्वीकार गर्दै कार्यदल नै भंग गरेको हो ।

प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेसम्मको कामका लागि कार्यदललाई धन्यवाद । अब सचिवालयले प्रस्ताव तयार गर्ने छ र स्थायी समितिमा पेश गर्ने छ।’
कार्यदलले गर्ने भनेको कामको जिम्मेवारी सचिवालयले नै गर्ने निर्णय भएको उनले बताए । अन्तिम निर्णय स्थायी समितिले गर्ने भएकाले सचिवालयले सुझाव प्रतिवेदन तयार गर्ने उनले बताए । योगेश भट्टराईसहितका नेताले फरक मत राखेका छन् । कार्यदलको काममा सचिवालयले हस्तक्षेप गरेको आरोप उनीहरुको छ ।

गएको मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई पूरा गर्ने प्रस्ताव बनाई सिफारिससहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो ।