देशमा खतरा मण्डराउन थाल्यो, प्रतिवादमा उत्रिनुस् : अध्यक्ष प्रचण्ड

देशमा खतरा मण्डराउन थाल्यो, प्रतिवादमा उत्रिनुस् : अध्यक्ष प्रचण्ड


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य व्यवस्थाप्रति प्रहार गर्दै अराजक गतिविधि बढेकाले त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

आइतबार थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले कुनै खतरा नरहेपनि खतराको सुरुवात भने पक्कै भएको बताउँदै त्यसको प्रतिवादमा उत्रिन सबैलाई आग्रह गरे ।

‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँठाउँमा बढेको पक्कै हो, खतरा मण्डराउन थालेको देखिन्छ, देखिएको पनि छ, यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच समझदारी भएको छ । यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो’ उनले भने ।

उनले भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको पनि बताए । सरकारले केही गरेन भन्ने कुरा पनि सत्य नभएको बताउँदै उनले गत वर्ष थुप्रै मौलिक अधिकारसम्बन्धी कानून बनाएको र अन्तर्रा्ष्ट्रिय सम्बन्ध सुधार भएको दाबी पनि गरे ।