हाम्रो देशको संविधान विश्वका कुनै पनि देशको संविधानभन्दा कमजोर छैन : नेता नेपाल

हाम्रो देशको संविधान विश्वका कुनै पनि देशको संविधानभन्दा कमजोर छैन : नेता नेपाल


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले बिहीबार आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश भएको र केही विषयमा छलफल जारी राख्न सकिने जनाए ।

नेता नेपालले भने, ‘अनेक कुराहरू आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौं । आफ्नो संविधान आफैँ बनाउन सक्ने उदाहरण प्रस्तुत ग¥यौं । यो संविधान आफैँमा अनुपम दस्तावेज हो । विश्वका कुनै पनि संविधानभन्दा कमजोर छैन । यसको कार्यान्वयनमा सबैको भूमिका आवश्यक छ । केहीले सुविधै सुविधा लिएर अरुलाई पाखा पार्ने स्थिति भएमा असन्तुष्टि हुनसक्छ ।’

उनले बालबालिको हितलाई केन्द्रमा राखेर नीति, योजना ल्याइनुपर्ने र बालबालिकालाई सामाजिक र व्यवहारिक बनाउन लाग्नुपर्ने जनाए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्टमध्येको एक हो भन्दै बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको बताइन् ।

उनले संविधानमा व्यवस्था गरिएका बाल अधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशीलरूपमा लागेको जनाउँदै बालबालिका देशको भविष्य भएकाले बालबालिका ऐन, २०७५ को कार्यान्वयनसँगै तीन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बालबालिकालाई मानव ढाल बनाउने तथा हिंसात्मक गतिविधिमा संलग्न कार्य र महँगो शिक्षा हुने स्थिति गलत भएको बताए।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले माध्यमिक तहमा विद्यार्थीको कक्षा छाड्ने दर घट्न नसकेको र बालश्रमिकको अवस्था अन्त्य नभएकाले अधिकारको कार्यान्वयनमा चुनौती देखिएको भनाइ राखे।

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बालअधिकारको रक्षा गर्दै विद्यालयमा बन्द हड्ताल अन्त्य हुनुपर्ने र राज्यले निजी विद्यालयको योगदानलाई बिर्सन नमिल्ने बताए। रासस