विष्टको नेतृत्वमा एकीकृत समाजवादी निकट खेलकुद महासङ्घ गठन

विष्टको नेतृत्वमा एकीकृत समाजवादी निकट खेलकुद महासङ्घ गठन


काठमाण्डु – नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासङ्घ गठन गरिएको छ । आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो ।

नेकपा एमालेनिकट उक्त महासङ्घ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासङ्घमा रहने निर्णय गरेका हुन् ।

आगामी कात्तिक १२ र १३ गते काठमाण्डुमा राष्ट्रिय भेला गरिने महासङ्घको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

पार्टीका उपमहासचिव डा विजय पौडेलले नयाँ कार्य समितिलाई खेलकुदका माध्यमबाट देशभर सङ्गठनलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी जनताको सेवालाई केन्द्रमा राखेर राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

सङ्घीय, प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशका विभिन्न स्थानमा लुकेका प्रतिभाशाली खेलाडीलाई पहिचान गरी उनीहरूलाई आवश्यक समन्वय र सहयोग गरी राष्ट्रिय खेलाडीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

नवगठित कार्यसमितिका अध्यक्ष विष्टले खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाउन सकिने विश्वास व्यक्त गरे ।