नेकपामा उठ्यो समावेशीताको प्रश्न : केन्द्रिय समितिमा महिलाको प्रतिनिधित्व कम

नेकपामा उठ्यो समावेशीताको प्रश्न : केन्द्रिय समितिमा महिलाको प्रतिनिधित्व कम


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिँँदा समावेशी र समानुपातिक सिद्धान्त उल्लंघन भएको छ। पार्टीले मंगलबार अपराह्न सार्वजनिक गरेको चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा कानुनअनुसार महिलाको प्रतिनिधित्व भएको छैन।

पार्टी केन्द्रीय सदस्य तथा सांसद विन्दा पाण्डेले दल दर्तासम्बन्धी ऐनको दफा १५ (४) ले दलको सबै तहका समितिमा एकतिहाइ महिला हुने व्यवस्था गर्नुपर्नेछ भन्ने प्रावधानसँग बाझिने गरी केन्द्रीय समिति गठन गर्न नमिल्ने बताइन्। ‘नयाँ कानुनअनुसार राजनीतिक दलको केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत पुगेन भने निर्वाचन आयोगमा दल दर्ता गर्न सकिँदैन,’ उनले नागरिकसँग भनिन्, ‘कानुनअनुसार भएन भने सच्चाउनुपर्ने अवस्था आउन सक्छ।’ कानुनअनुसार नेकपाको केन्द्रीय समितिमा कम्तीमा एक सय ४५ महिलाको प्रतिनिधित्व हुनुपर्ने देखिन्छ। तर, ७६ महिलाले मात्रै केन्द्रीय समितिमा स्थान पाएका छन् जुन कुल सदस्य संख्याको १७.२३ प्रतिशत हो।

नयाँ कानुनअनुसार राजनीतिक दलको केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत हुनुपर्ने प्रावधान भए पनि नवगठित नेकपा केन्द्रीय सदस्यमा १७.२३ प्रतिशत मात्र महिलाले स्थान पाएका छन्।

केन्द्रीय समितिमा सबैभन्दा बढी अर्थात् दुई सय ४७ जना खस आर्य समुदायका छन्। यो संख्या कुल सदस्यको ५६ प्रतिशतभन्दा बढी हो। समितिमा जनजाति समुदायका ७६ र मधेसी समुदायका ४७ जना छन्।

समितिमा स्थान पाउने श्रीमान्–श्रीमतीका १० भाग्यमानी जोडी छन्। यस्ता भाग्यमानी दम्पतीमा शंकर पोखरेल र सुजता शाक्य, देवप्रसाद गुरुङ र यशोदा सुवेदी, हितमान शाक्य र अमृत थापामगर, वर्षमान पुन र ओनसरी घर्तीमगर, देवेन्द्र पौडेल र बलावती शर्माले समितिमा ठाउँ पाएका छन्। केन्द्रीय समिति सदस्य चयन हुने अन्य जोडीमा गणेशमान पुन र कमला रोक्का, रघुवीर महासेठ र जुली महतो, कृष्णध्वज खडका र रेखा शर्मा, शक्तिबहादुर बस्नेत र सत्या पहाडी, सूर्यकुमार सुवेदी र ज्ञानु बस्नेत, विश्वनाथ साह र सीता पोखरेल छन्।

पार्टी अध्यक्ष पुष्कमल दाहालकी छोरी रेणु दाहाल र बुहारी बिना मगर पनि केन्द्रीय समितिमा छन् भने चुरेभाबर राष्ट्रिय एकता पार्टीबाट प्रवेश गरेका बद्रीप्रसाद न्यौपाने, तराईमधेस लोकतान्त्रिक पार्टीबाट प्रवेश गरेका समिम मियाँ अन्सारी र नेकपा मालेबाट प्रवेश गरेका भाष्कर काफ्लेलगायत पनि केन्द्रीय सदस्य भएका छन्।

पत्रकारहरु ओम शर्मा, महेश्वर दाहाल र विष्णु रिजाल पनि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका छन्। सत्तारुढ दलको केन्द्रीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाबाहेक सबै २१ मन्त्री समावेश गरिएका छन्।आजको नागरीक दैनिकमा समाचार छ ।