बस्नका लागि भारत भन्दा नेपाल महँगो, स्वीट्जरल्यान्ड विश्वकै महँगो मुलुक

बस्नका लागि भारत भन्दा नेपाल महँगो, स्वीट्जरल्यान्ड विश्वकै महँगो मुलुक


एजेन्सी – बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुकहरु भारत र पाकिस्तान भन्दा महँगो भएको छ । यो मामिलामा भारत १३० औं र पाकिस्तान १३२ औं महँगो मुलुक भएका छन् । सीइओवल्र्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो मुलुकमा नेपाल १२२ औं स्थानमा रहेको छ ।

श्रीलंका ११२ औं महँगो मुलुक भएको छ । विश्वकै महँगो मुलुकमा स्वीट्जरल्यान्ड रहेको छ । दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड रहेका छन् । किराना, लत्ता कपडा र ट्याक्सीको भाडा लगायतका विभिन्न बस्तुको मूल्यका आधारमा पहाडी मुलुक स्वीट्जरल्यान्ड विश्वकै महँगो भएको हो ।

शीर्ष महँगा १० मुलुकको सूचीमा डेनमार्क, लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापुर र दक्षिण कोरिया परेका छन् । अमेरिका विश्वकै २०औं महँगो मुलुक भएको छ । बेलायत २७ औं स्थानमा रहेको छ ।  विज्ञहरुले आवास, पोशाक, ट्याक्सीको भाडा, युटिलिटी, इन्टरनेट, किराना सामग्रीको मूल्य, यातायात र बाहिर खाने लगायतका विभिन्न आधारमा महँगो मुलुकको सूची तयार पारेका हुन् ।

उनीहरुले महँगो सहरको रुपमा कुख्याती कमाएको न्यूयोर्क सहरको आधारमा जिवनयापनको मूल्य तयार पारेका छन् । यो सूचीका आधारमा न्यूयोर्क भन्दा स्वीट्जरल्यान्ड, नर्वे र आइसल्यान्ड तीन मुलुक मात्रै महँगा देखिएका छन् । १२२.४ अंकका साथ स्वीट्जरल्यान्ड विश्वकै महँगो मुलुक भएको हो । उसको यो अंक दोस्रो स्थानमा रहेको नर्वेको १०१.४ अंकको तुलनामा धेरै अन्तरले माथि रहेको छ ।

महँगो मुलुकको सूचीमा पहिलो नम्बरमा परेको स्वीट्जरल्यान्ड किराना सामग्री र रेष्टुराँको मूल्यमा पनि सबैभन्दा माथि देखिएको छ ।स्वीट्जरल्यान्ड बिग म्याक सूचीमा पनि महँगो मुलुकको रुपमा रहेको छ । यसले विश्भरी म्याकडोनाल्डको मूल्य मापन गर्छ ।

एउटा बिग म्याकको मूल्य ६.५० स्वीस फ्रांक पर्छ । यो मूल्य विश्वमै अधिक मूल्यको बर्गर भएको इकोनोमिस्टको सूचीले देखाएको छ । स्वीस फ्रांक महँगो भएकाले मूल्य पनि उच्च हुन गएको छ । सूचीको चौंथो स्थानमा जापान रहेको छ । युरोप बाहिर हेर्ने हो भने यो मुलुक सर्वाधिक महँगो रहेको छ । यद्यपि यो मुलुकको अंक आइसल्यान्डको १००.४ को तुलनामा धेरै तल अर्थात ८३.४ रहेको छ ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ कार्यालय भाडाका लागि विश्वकै महँगो बजार भएको छ । यद्यपि समग्र सूचीमा यो क्षेत्र ११ औं स्थानमा रहेको छ ।