देशको नयाँ चोला फेर्न उठ हिँड जाम्…

देशको नयाँ चोला फेर्न उठ हिँड जाम्…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्रकाश सिलवाल
काठमाडौैं– 
“झुल्क्यो हेर पूर्वमा नयाँ घाम 
देशको नयाँ चोला फेर्न उठ हिँड जाम् 
नयाँ नेपाल बनाउँन लागम् सबै लाम्” 

मुलुकले समृद्धिको सपना देखिरहेका बेला जनताका गायक रामेश श्रेष्ठले नेपालीलाई आपसमा लडाएर विकासलाई रोक्न खोज्नेहरुको चाललाई चकनाचुर पार्न आह्वानसहित आफ्ना युगीन गीत प्रस्तुत गरिरहँदा श्रोतादीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीले ताली पिटिरहेका थिए।

नयाँ र समृद्ध नेपालको प्रतिबद्धतासहित ताजा जनादेशबाट सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री ओलीलाई अब कुनै बहानामा देश बनाउने काममा अवरोध हुन नहुने र त्यस्तो भएमा जनताले अर्काेपटक मत नदिने खबरदारी गर्न सक्ने सामथ्र्य जनआन्दोलनमा जतना जगाउने जनकलाकार रामेशहरुको हुनु स्वभाविकै थियो।

“हिजो सडकमा हामीसँगै गीत गाएका साथीहरु आज सरकारमा पुग्नुभएको छ, अहिले पनि सँगै हुनुहुन्छ । अब देशले चोला बदलेको हेर्न पाउँ, हाम्रो साथ रहन्छ ।” लोकतान्त्रिक गणतन्त्रका लागि निरकुंशताविरोधी र जनचेतनामूलक गीत गाएरै लोकप्रियता आर्जन गरेका रामेशले भने, “तलब खान, हस्ताक्षर गर्न र जनतालाई शासन गर्न हामीले मन्त्री बनाएको होइन, जनताको सेवा गर्न पठाएको हो भन्ने बुझ्नु होला ।”

सांस्कृतिक संस्थान र सार्थक सांस्कृतिक अभियानले एघारौँ गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरेको रामेशको एकल सांगीतिक प्रस्तुतिको ‘युगीन आवाज’ सुन्न जमलस्थित राष्ट्रिय नाचघरमा खचाखच भरिएको दर्शकमाझ उहाँले गोकूल जोशीको गीतबाट यसरी प्रश्न गरे।:
“रोक्ने को हो दूरदर्शी विचारका धारा

को हो नयाँ नेपालको बोक्ने अभिभारा ?” 

युगकवि सिद्धिचरणको श्रेष्ठको रचना ‘हिमगिरी मण्डित’, ‘मेरो प्यारो ओखलढुंगा’, राल्फाली अभियानका सहकर्मी मञ्जुलको ‘कर्मशील जिन्दगी’, ‘ओलाङचुङगोला’ र ‘भोकै मर्ने महाकविका’, श्याम तमोटको ‘गाउँ गाउँबाट उठ’, वम देवानको ‘देश खोज्दै जाँदा’, प्रमोद हमालको ‘तिमी देऊ तिम्रा हातहरु’, विमल निभाको ‘ओ जनता महान’, रामबाबु सुवेदीको ‘ऋतु गीत’ र रामेश आफैँले रचना गरेका ‘कति राम्रो छ नेपाली मन’ र ‘पूर्वबाट उदायो’सहित एक दर्जन गीतलाई ७५ वर्षे उमेरमा पनि उत्तिकै युवा उत्साह पैदा गर्ने गरी गाए । अधिकांश गीतमा रामेशकै संगीत थियो।

आफ्ना कतिपय गीतहरु नेपालकै विभिन्न मातृभाषामा मात्र होइन विदेशी भाषामा पनि गाइएको सस्वर उदाहरण प्रस्तुत गर्दा रामेशको मेधावी कण्ठको क्षमता झल्किरहेको थियो । रायन र मधू गुरुङलगायतका कलाकारको सहगायनमा उहाँले दसकौँदेखि जनतामा झिजेको उही

“गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ 
यो देशको मुहार फेर्नलाई उठ…” बोलको गीत गाउँदा हलका सहभागी जुरुकजुरुक भएका थिए । कोही आफ्ना मोबाइलबाट दृश्य कैद गरिरहेका थिए भने कोही तालीको गड्गडाहटमा ध्वनिको शक्ति कम्पन गरिरहेका थिए ।

“तीन पुस्ताले गाइसक्यो यो गीत तर किन देश नबनेको ?” प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक योजना योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र सहभागीतिर आँखा जुधाएर रामेशले प्रश्न गरेपछि हल स्तब्ध बनेको थियो ।

लगातार करिब तीन घन्टा चलेको जनसांगीतिक उत्सवमा प्रधानमन्त्री ओलीले रामेशलाई अभिनन्दन गर्दै भने, “रामेश समुद्रको छाल हो । मैले देखेदेखि अहिलेसम्म बगिरहेका छन् । मलाई खुशी लागेको छ, आज जनता र देशका तर्फबाट मैले उहाँलाई सम्मान गर्न पाएँ ।”

पञ्चायत कालमा कैदी जीवन बिताउँदा ‘हामी जित्ने छौँ एक दिन’ जस्ता गीतले प्रेरणाको काम गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गायक रामेशलाई जवाफ दिए, “तपाईँहरुले गीत गाएर नेपाल जागृत गराउनुभयो । तपाईँहरुले जित्नुभएको छ । हाम्रो अरु कुनै स्वार्थ छैन । समृद्ध र सुखी नेपाली बनाएरै छाड्छौँ । देश नयाँ चरणमा प्रवेश गरेको छ । अब निराशाका गीत गाइरहनु पर्दैन ।”

प्रधानमन्त्री ओलीले आश्वस्त पार्दै भने, “देशका सबै सामथ्र्य, शक्ति र स्रोत साधनको देश र जनताको लागि सर्वाधिक सदुपयोग गर्छाैँ । रोजगारी गर्न विदेश जाने स्थिति केही वर्षभित्रै अन्त्य गर्छाैँ ।”

विसं २००१ असार ८ गते पाल्पामा जन्मनुभएका ओखलढुंगा निवासी श्रेष्ठ २०१९ सालमा रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामार्फत संगीत क्षेत्रमा होमिएका थियो । उनका एक दर्जन बढी गीति एल्बम प्रकाशित भइसकेका छन्। रासस