वायुसेवा निगमले तिर्‍यो कोषलाई ७३ करोड

वायुसेवा निगमले तिर्‍यो कोषलाई ७३ करोड


काठमाण्डु – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ ।

निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानीअन्तर्गत पछिल्लोपटक असोज ३१ गते रु ७३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरेको निगमका सह–प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।

निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज बापतको रु.५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ ।

त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको रु २० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले यसअघि गत आसार ३० गते दुवै कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरिएको जनाएको छ ।

पछिल्ला दिनमा नियमित उडान, अकुपेन्सी दरमा सुधार आई आम्दानीमा वृद्धि भएको निगमले नियमितरुपमा ऋण दायित्वको भुक्तानी गर्न सफल भएको सह–प्रवक्ता घिमिरेले बताए । उनले अन्तर्राष्ट्रिय उडानका चारवटै जहाज पूर्णक्षमतामा नियमित उडान भइरहेकाले निगमको आम्दानीमा सुधार आएको बताए ।

निगमले वाइड बडी ए–३३० र न्यारोबडी ए–३२० जहाज खरिदका दुवै चरणमा गरेर करिब रु ३७ अर्ब ऋण लिएको थियो । सावाँ र ब्याज बढेर भुक्तानी दायित्व झण्डै ४५ अर्ब पुगेको बताएको छ ।