क्याबिन क्रुको आन्दोलनले निगमको दुबई उडान रद्द

क्याबिन क्रुको आन्दोलनले निगमको दुबई उडान रद्द


काठमाण्डु-४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रुको आन्दोलनले नेपाल वायुसेवा निगमको दुबई उडान रद्द भएको छ । निगमको दुवई उडान रद्द हुँदा ३ सय २८ यात्रु अलपत्र परेका छन् । काठमाडौंबाट दुवई जान ६१ यात्री थिएन ।

शुक्रबार राति ११ः३० बजेको काठमाडौं–दुबई उडान तालिका भएपनि अन्तिम समयमा क्याबिन क्रुहरू नआइएपछि उडान रद्द भएको हो ।

निगमको आरए २२९ न्यरोबडी सगरमाथा जहाज शुक्रबार राति साढे तीन बजेसम्म क्याबिन क्रुको प्रतिक्षामा थियो । तर उडानका लागि खटाइएका परिचारिकाहरू सुबिना श्रेष्ठ, सुनिता थापा, रिना प्रजापती, दिलिसा श्रेष्ठ नआएपछि दुबई उडान रद्द गरिएको थयो ।

साढे ११ बजे उड्नु पर्ने जहाज राति साढे ३ बजे रद्द भएको घोषणा निगमले गरेको थियो । निगमले यात्रुलाई गौशाला र ज्ञानेश्वरका होटलमा आफनै खर्चमा राखेको छ ।

निगममा क्याबिन क्रुहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ गतेदेखि उनीहरू पुनः आन्दोलनमा उत्रिएका छन् ।