काठमाडौं – चीनको बढ्दो राजनीतिक, आर्थिक, सैनिक शक्तिलाई नियन्त्रण गर्न अमेरिकाले ‘इन्डो प्यासिफिक रणनीति’ अन्तर्गत रक्षा सहकार्य विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘इन्डो-प्यासिफिक रणनीति प्रतिवेदन-२०१९’ मा अमेरिकाले नेपालसहित दक्षिण एशियाका पाँच मुलुकसँग हिन्द प्रसान्त (इन्डो प्यासिफिक) रणनीति अन्तर्गत नेपालसँग ५ क्षेत्रमा सैन्य विस्तार गर्न चाहेको उल्लेख गरेको छ ।
इन्डो प्यासेफिक रणनीतिअन्तर्गत नेपालसँग सम्बन्ध विस्तार गर्न चाहेका क्षेत्रहरुमा प्राकृतिक प्रकोप, शान्ति स्थापना प्रयास, रक्षा व्यवसायिकता, स्थल सेना क्षमता अभिवृद्धि तथा प्रतिआतंकवाद रहेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१८ जुनमा अमेरिकी सेना प्यासिफिक नेतृत्वले नेपाली पक्षसँग गरेको वार्ताले साझेदारी बढ्दै गएको देखाउँछ’ । अमेरिकाका इन्डो प्यासेफिक कमाण्डका कमाण्डर तथा अमेरिकाका उप सहायक रक्षामन्त्री एड्माइरल डेभिड्सनले नेपाल भ्रमण गरेका थिए । नेपालसँग सैनिक सम्वाद गर्ने उनी सबैभन्दा उच्च स्तरका सैनिक अधिकारी हुन । प्रतिवेदनमा सो विषय समेत उल्लेख गरिएको छ ।
‘दक्षिण एशियाभित्र हाम्रो मुख्य रक्षा साझेदार भारत एवं श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालसँग साझेदारी विस्तार गर्दै लगिरहेका छौं,’ प्रतिवदेनमा भनिएको छ । अमेरिकी रक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदन ‘तयारी, साझेदारी र क्षेत्रीय सञ्जालको प्रवद्र्धन’ को रुपमा व्याख्या गरिएको छ ।
गत पुसमा भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पओले नेपालले इन्डो प्यासिफिक क्षेत्रको शान्ति, विकास र समृद्धिमा केन्द्रीय भूमिका निर्वाह गर्न सक्ने बताएका थिए ।
नेपाली सेनाले पहिलेदेखि अमेरिकी सेनासँग इन्डो प्यासेफिक रणनीति अन्तर्गत रहेर प्राकृतिक विपत्ति, विपत् व्यवस्थापनसहितका क्षेत्रमा काम गर्दै आएको छ । वि.सं. २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि अमेरिकी सेनाको प्यासिफिक कमान्ड उद्धारमा परिचालन भएको थियो। सो विषय समेत प्रतिवेदनमा छोइएको छ ।
विश्वको कुल गार्हस्थ उत्पादनमा इन्डो प्यासेफिक क्षेत्रको योगदान दुई तिहाइ रहेको उल्लेख गर्दै प्रतिवेदनमा नेपालसहित ६ देशलाई विश्वका तीव्र रुपमा आर्थिक विकास गर्दै गरेको देशको सूचिमा राखिएको छ । नेपाल बाहेक यो सूचिमा भारत, कम्बोडिया, लाओस, बर्मा, फिलिपिन्स छन् ।
सो प्रतिवेदनमा नेपाल र श्रीलंकालाई सन् २०१९ मा अमेरिका रक्षा मन्त्रालयको साझेदार देशको सूचिमा थप गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया