सेनासंग नजिक हुंदै चीन, सैन्य सहयोगमा ५० प्रतिशतले वृद्धि 

सेनासंग नजिक हुंदै चीन, सैन्य सहयोगमा ५० प्रतिशतले वृद्धि 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनले नेपाली सेनालाई दिने सैन्य सहयोग ५० प्रतिशतले वृद्धि गरेको छ । नेपालको उत्तरी छिमेकी चीनले गत बर्ष १० करोड चिनियां युआन बरावरको सैन्य सहयोग गरेको थियो । तर, यसबर्ष १५ करोड अर्थात २ अर्ब ५० करोड नेपाली रुपैया बरावरको सहयोग बढाएको हो । चिनले सैन्य सहयोग मात्र होईत,तालिम र उपकरण समेत नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।उससंगको सैन्य सहकार्यमा समेत वृद्धि भएको जानकारहरु बताउंछन् । 

कार्तिक दोस्रो हप्ता चीन भ्रमणको क्रममा बेइजिंग पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियां समकक्षी वेई फेंगेसंग अघिल्लो बर्षको भन्दा झण्डै ५० प्रतिशत रकम बढ्ने गरी सैन्य सहायतासम्बन्धी सम्झौता गरेका थिए । 

उनले चीन भ्रमणका क्रममा उच्च सैनिक अधिकारीसंग समेत भेटवार्ता गरेका थिए । उपप्रधानमन्त्री पोखरेललाई चिनियां सरकारले उच्च महत्व समेत दिएर उच्चस्तरिय भेटवार्ता मिलाएको थियो । चीनले दिएको उक्त सैन्य सहयोग मानवीय र विपद् व्यवस्थापनका क्षेत्रमा केन्द्रित हुने भनिए पनि त्यसको विश्तृत विवरण भने सार्वजनिक भएको छैन् । 

चीनले पछिल्लो समय उच्च सैनिक अधिकारीहरुलाई दिने तालिमको संख्यामा समेत उल्लेख्य बृद्धि भएको बताइएको छ । सहायकरथी र महासेनानीले उपरथी हुन गर्ने नेशनल डिफेन्स कोर्स (एनडिसी) को कोटा समेत चीनले ६ वटा पुर्याएको छ । जवकी भारत र अमेरिकाले दुई जनालाई मात्र उक्त अवसर दिने गरेका छन् । 

नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले पद वहाली गरेलगत्तै चिनियां राजदूत यु होंगले दोस्रो दिन नै बधाई दिंदै नेपाली सेनासंग सहकार्य गर्न चीन ईच्छुक रहेको बताएकी थिईन । यसले पनि चीन नेपाली सेनालाई स्थिर र भराशिलो शक्तिका रुपमा बुझ्न थालेको देखिन्छ । पछिल्लो समय नेपालमा चिनियां सैन्य सहयोग बढ्नुलाई चीनले नेपाली सेनालाई एउटा स्थिर शक्तिको रूपमा हेरेको सुरक्षा विदहरु बताउंछन् । 

नेपाली सेनालाई विपद् व्यवस्थापन र हवाई क्षेत्रमा अमेरिकी सेनाले समेत सहयोग गर्दै आएको छ । चिनियां पक्षले पनि नेपालका सातवटै प्रदेशमा विपद् व्यवस्थापन केन्द्र स्थापनाका लागि सहयोग गर्ने रुची राखेपनि सरकारले त्यसमा कुनै धारणा बनाउन सकेको छैन् । पछिल्लो समय शक्ति राष्ट्रहरुले सेनामा सहयोगको प्रतिस्पर्धा गरेपछि सन्तुलन गर्न सरकारलाई अफ्ठेरो परेको बताइन्छ । 

नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले चीनले सेनालाई दिएको सैन्य सहयोग उपकरण खरिद र सैन्य क्षमता अभिवृद्धिमा खर्च हुने बताएपनि विश्तृत जानकारी भने दिन मानेनन् । सेनाका अवकासप्राप्त उपरथी बिनोज बस्न्यातले चीनले दक्षिण एसियामै आफ्नो सामरिक प्रभाव बढाउने उद्देश्यले सैन्य सहयोगमा जोड दिएको बताए । उनले दक्षिण एसियाली देशमा चीनको राजनीतिक र सुरक्षाको स्वार्थ बढिरहेको दावी गरे । 

चीनसंग नेपाली सेनाको सम्बन्ध मजवुत भएपछि छिमेकी मुलुक भारत र अमेरिका झस्केको बुझाइ समेत कतिपयको छ ।  हुनत् सेनाले भारत, अमेरिका र बेलायतसंग संयुक्त सैन्य अभ्यास र सहकार्य गर्दै समेत आएको छ । पछिल्लो समय चीनसंग समेत नेपाली सेनाको संयुक्त सैन्य अभ्यास गरेको थियो ।