काठमाण्डु- नेपालमा प्रत्येक वर्ष आर्थिक वर्षको हिसाब किताब राख्ने गरी बजेटको औपचारिक सुरुवात २००८ सालदेखि भएको हो । तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पहिलो पटक बजेट प्रस्तुत गरेका थिए । उनले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।
नेपालमा बजेटको इतिहास ७३ वर्ष पुरानोे छ । आज संसदमा प्रस्तुत भइरहेको बजेट ७४ औं हो ।
नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारले ल्याएको थियो । त्यसअघिका सरकारका बजेट पारिवारिक हुन्थे । २००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसद समक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । १ सय ४ वर्षे राणा शासनको शोषणमा रहेका जनताले यस बजेटबाट पहिलो पटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गरेका थिए ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री देवेन्द्रराज पाण्डेले राजनीतिक परिवर्तन, आर्थिक सामाजिक सूचक र विश्व आर्थिक सन्तुलनलाई हेरेर १९ अर्ब ७९ करोड बरावरको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए ।
२०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले ल्याएको बजेटको आकार ३६ अर्ब ६४ करोड रुपैयाँको थियो । जसमा १६ अर्ब ८९ करोड विकासका लागि छुट्टयाइएको थियो । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । नेपालको बजेट इतिहासलाई हेर्ने हो भने २०६१–०६२ सालमा पहिलो पटक १ खर्ब रुपैयाँ नाघेको थियो । त्यतिबेला डा.रामशरण महत अर्थमन्त्री थिए । अहिले बजेटको आकार साढे १९ खर्बको हाराहारी पुगेको छ ।
आब २०७२–०७३ मा बजेट रकम ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो । आब ०७१–०७२ मा ६ खर्ब १७ अर्बको बजेट सार्बजनिक भएको थियो । ती दुबै बजेट अर्थमन्त्री डा. रामशरण महतले नै ल्याएका थिए ।
आर्थिक वर्ष २०७३–७४ को बजेट अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरे । उनले साढे १० खर्बको बजेट सार्वजनिक गरेका थिए । आर्थिक वष २०७४–७५ को बजेट अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेका थिए । उक्त बजेटको आकार १२ खर्ब ७८ अर्ब रुपैयाँ थियो ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५–७६ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले ने आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट ल्याएका थिए ।
आर्थिक वर्ष २०७७-७८ मा अर्थमन्त्री युवराज खतिवडाले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजित गरेका थिए । तत्कालीन प्रतिनिधिसभा विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलल आर्थिक वर्ष आर्थिक वर्ष २०८८-०७९ मा साउन १ गतेदेखि लागू हुने कूल साढे १६ खर्ब रुपैयाँको अध्यादेशबाट बजेट पेश गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिनिधिसभामा पेस गरेका थिए । गत आर्थिक वर्ष २०८०–८१ मा अर्थमन्त्री प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थिए ।
बजेटका रोचक पक्ष
नेपालमा मात्रै होइन संसारभरका धेरै देशले बजेट प्रस्तुत गर्ने गर्छन् । यसरी प्रस्तुत गरिने बजेटका केही रोचक कुराहरू पनि छन् ।
–बजेट फ्रेञ्च शब्द बुगेटबाट आएको हो, जसको अर्थ वालेट हो ।
–बजेट शब्दको प्रयोग सन् १६११ मा एउटा नाटकमा थोमस क्रोयटेले गरेका थिए । यो शब्द १६ शताब्दीको अन्तमा निकै प्रचलित बनेको थियो । त्यतिखेर बेलायतमा बजेट भनेर पत्रिकालाई बुझिन्थ्यो ।
–बजेट शब्दलाई आर्थिक क्षेत्रसँग पहिलो पटक १७३३ मा जोडियो ।
–सन् १७३३ मा तत्कालीन अर्थमन्त्री रोबेर्ट वालपोलेले सर्वप्रथम बजेट प्रस्तुत गरेपछि आधुनिक बजेटको सुरुवात भएको हो । नेपालमा भने त्यसको २ सय १८ वर्षपछि २००८ सालबाट बजेटको सुरुवात भएको थियो ।
–गणतान्त्रिक संविधान बनेपछि त संविधानमै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरेको छ ।
–अनौपचारिक रुपमा ११ औँ शताब्दीमा बेलायतमा एलिजाबेथ प्रथमको समयदेखि नै बजेट निर्माण गरिन्थ्यो । तर उक्त बजेट सर्बसाधारणलाई थाहा भने दिइनन्थ्यो ।
–भारतको पहिलो बजेट १८६९ मा प्रस्तुत गरिएको थियो ।
–बेलायतमा सन् १७९८ मा पहिलो पटक बजेटमा आय कर पनि समावेश गरिएको थियो ।
–भारतमा मोरारजी देसाईले सबैभन्दा धेरै १० पटक बजेट प्रस्तुत गरेका छन् । उनले दुई पटक आफ्नो जन्म दिनका दिन बजेट प्रस्तुत गरेका छन् । भारतमा बजेट प्रस्तुत गर्ने पहिलो महिला इन्दिरा गान्धी हुन् ।
–सन् २०१६ को एक तथ्यांकअनुसार भारत संसारका १० ठूलो बजेट भएका देशको दशौँ स्थानमा पर्छ । पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा चीन छन् । उक्त तथ्यांक अनुसार नेपाल १०५ औं स्थानमा पर्छ ।
–त्यस्तै संसारमा सबैभन्दा धेरे सैन्य बजेट छुट्याउने देशमा अमेरिका पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा छ ।
–सैन्य बजेटको मामिलामा भारत पनि पाँचौ स्थानमा छ । भारतले कुल ग्राहस्थ उत्पादनको २.५ प्रतिशत सैन्य बजेटमा खर्च गर्छ ।
–सन् १९४७ मा वेलायतको लेबर पार्टीका तत्कालिन चान्सलर ह्युज डाल्टनले बजेट पेश गर्नु अगाडी नै बजेटका महत्वपूर्ण अंश पत्रकारलाई सुनाएका थिए । त्यही कारण उनले राजीनामा दिनुपरेको थियो ।
–सन् १९९६ मा बेलायती पत्रिका डेली मिररले बजेट सार्वजनिक हुनु अगाडी नै बजेट प्राप्त गरे पनि छापेन । उसले सरकारले बजेट पेश गर्नु अगाडी नै बजेट सार्वजनिक गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भन्दै बजेट नछापेको बताएको थियो ।
–२०६७ मंसिर ३ गते अर्थमन्त्री सुरेन्द्र पाण्डे संसदमा बजेट प्रस्तुत गर्न जाँदा उनीमाथि तत्कालिन माओवादीका सांसदले हातपातको प्रयास गरेका थिए ।
–२०६८ साल असार ३० मा बजेट पेश गर्न संसद पुगेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले मधेसी दलको विरोधका कारण बजेट पेस गर्न पाएनन् । बजेट संचारमाध्यमबाट सार्बजनिक भएको थियो । तर बजेट छापिएका पुस्तक भने संसदमा वितरण गरिसकिएको थियो । पछिल्लो दिन अर्थमन्त्रीले अघिल्लो दिन नै सार्वजनिक भएको बजेट संसदमा पेश गरेका थिए ।
–अर्थमन्त्री विष्णु पौडेलको पालामा आर्थिक वर्ष २०७३\७४ को बजेटको अंक जस्ताको तस्तै सार्बजनिक भएको थियो ।
–अर्थमन्त्री भएर पनि पूर्ण आकारको बजेट पेश गर्न नपाउने अर्थमन्त्रीको बद्रिबहादुर श्रेष्ठ, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
–अर्थमन्त्री डा. बाबुराम भट्टराईले २०६५ सालमा आर्थिक वर्ष लागेको ३ महिना पछि मात्र पूर्ण आकारको बजेट ल्याएका थिए ।
–आर्थिक वर्ष २०७४\७५ मा अर्थमन्त्री कृष्णबहादुर महराले पहिलो संघीय बजेट ल्याएका थिए । चुनावी आचारसंहिताका कारण महराले कुनै पनि नयाँ कार्यक्रम राखेर बजेट ल्याउन पाएनन् ।
प्रतिक्रिया