काठमाण्डु-डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र तिर्न नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले १५ दिन अर्थात् मंसिर १२ गते सम्म बक्यौता महसुल नबुझाए फेरि बिजुलीको लाइन काट्ने चेतावनी पनि दिएको छ ।
गोरखापत्रमा बिहीवार सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको हो ।
सूचनामा प्राधिकरणले उद्योगीहरूलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनिएको छ । मंसिर १२ गतेभित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले मन्त्रिपरिषदको आइतवारको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको मंगलवारको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण पनि गराएको छ ।
‘सोहीअनुरुप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिलअनुसार बक्यौता बुझाउन अनुरोध गरिन्छ,’ प्राधिकरणले सूचनामा भनेको छ ।
डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरूले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटेएको थियो । तर मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो ।
प्राधिकरण सञ्चालक समितिको बैठकले पनि उद्योगहरूमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणले अधिकांश उद्योगमा लाइन जोडिदिएको छ ।
प्रतिक्रिया