काठमाण्डु- नेपाली तथा चिनियाँ अधिकारी एवम् उद्यमीहरूले दुई मुलुकहरूबीच सूचना प्रविधिको क्षेत्रमा आपसी सहकार्य अरू बढाउन आह्वान गरेका छन् ।
चीनको ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा बोल्दै उनीहरूले स्टार्टअपलाई सहयोग गर्न र लगानी अभिवृद्धि गर्न आह्वान गरेका हुन् ।
‘नेपाल–चीन प्रविधि सम्बन्ध सुदृढ गर्न नवप्रवर्तन र लगानी प्रवद्र्धन’ विषयक कार्यक्रममा ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनालले नेपालमा डिजिटल रूपान्तरण भइरहेको उल्लेख गर्दै कृषि, पर्यटन, उत्पादन र वित्तीय सेवाजस्ता विविध क्षेत्रमा प्रविधिको माग बढ्दो क्रममा रहेको बताए ।
उनले भने, ‘सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेश गर्दै छ । आज यो सम्बन्ध व्यापार, पूर्वाधार तथा प्रविधि क्षेत्रमा गतिशील साझेदारीमा रूपान्तरण हुँदैछ । चीनले कृत्रिम बुद्धिमत्ता (एआई), फाइभजी र डिजिटल अर्थतन्त्रमा हासिल गरेका उपलब्धिहरू प्रेरणादायी छन् । हामी नेपालको उदाउँदो प्रविधि क्षेत्रलाई तपाईँहरूको दक्षतासँग जोडेर दुवै देशलाई फाइदा हुने समन्वय सिर्जना गर्न चाहन्छौँ ।’
महावाणिज्यदूत खनालले हालै नेपालको सङ्घीय सांसदबाट सूचना प्रविधि (आइटी) क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ कानुनहरू पारित भएको जानकारी दिँदै सरकारले प्रविधिको सम्भावनालाई उपयोग गर्न रूपान्तरणकारी पहलहरू अघि सारेको बताए ।
उनले चिनियाँ लगानीकर्ता र प्रविधि विज्ञहरूलाई नेपालको उच्च वृद्धिदर भएका क्षेत्रहरू जस्तै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा र कृत्रिम बुद्धिमत्ता (एआई)—मा लगानी गर्न, अनुसन्धान र विकासका लागि प्रविधि केन्द्रहरूसँग सहकार्य गर्न तथा शैक्षिक तथा औद्योगिक कार्यक्रमहरूमार्फत ज्ञान आदानप्रदान गर्न पनि आह्वान गरे ।
कार्यक्रममा बेलायतमा मुख्यालय रहेको आइटी परामर्श तथा साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले ‘नेपालः प्रविधिको उदाउँदो केन्द्र’ विषयक प्रस्तुतिमा नेपालमा हरेक वर्ष सूचना प्रविधिका हजारौँ स्नातकहरू उत्पादन भई रहेका, ८५ हजारभन्दा बढी फ्रीलान्सरहरू सक्रिय रहेका र झन्डै चार करोड डलर बराबरको डिजिटल अर्थतन्त्र रहेको बताए ।
उनले भने, ‘नेपाल भारत र चीनबीचको सस्तो, स्वच्छ ऊर्जा भएको प्रविधि गन्तव्य हो र नेपालमा एआई, डिजिटल पूर्वाधार, हरित प्रविधि जस्ता चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) सँग मेल खाने साझा रुचिका क्षेत्रहरू पनि छन् । हुवावे नेपालमा ४ जी र ५ जी कनेक्टिभिटी कार्यरत छ। नेपाली फ्रीलान्सरहरूले चिनियाँ स्टार्टअपहरूका लागि एआई/एमएल मोडलहरू निर्माण गरिरहेका छन्। विद्युतीय सवारी साधन, नवप्रवर्तन तथा शिक्षा आदानप्रदान कार्यक्रमहरू कन्फ्युसियस इन्स्टिच्युटमार्फत सञ्चालन भइरहेको छ ।’
कार्यक्रममा ग्वाङ्गजाओ एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजीकी सचिव तथा कार्यकारी उपाध्यक्ष सु लिउले चीन र नेपालले पारस्परिक मित्रतासहित शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालना गर्दै पूर्वाधार निर्माण, सांस्कृतिक आदानप्रदान र विज्ञान–प्रविधि क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् ।
साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँग आबद्ध प्राज्ञ चेन जुन्लोंगले आपसी अनुसन्धान सहकार्य तथा दुवै मुलुकका स्टार्टअपहरु बीच ज्ञान आदानप्रदानमा जोड दिए ।
कार्यक्रममा बेइजिङ डानचेङ्ग ल अफिसेज एलएलपीकी एटर्नी सुश्री सीआइ लीले नेपालमा चिनियाँ कम्पनीहरूले लगानी गर्दा लागू हुने कानुनी व्यवस्था विषयमा प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रमको सुरुमा महावाणिज्यदूतावासका कन्सुलर सरोज भट्टराईले सबैलाई स्वागत गरेका थिए । नेपाल र चीनका सरकारी अधिकारी, लगानीकर्ता, प्रविधि उद्यमी र विज्ञहरू उपस्थित सो कार्यक्रममा दुवै देशबीच नवप्रवर्तन, प्रविधि र लगानीमा सहकार्यको सम्भावनाबारे छलफल गरिएको थियो ।
ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले नेपाललाई प्रविधिको सम्भावनायुक्त केन्द्रका रूपमा प्रस्तुत गर्नुका साथै नेपाल–चीन सहकार्यका सम्भावनाहरू उजागर गरेको थियो ।
प्रतिक्रिया