नेपाल र चीनका सेनाबीच भोलिदेखि संयुक्त अभ्यास

नेपाल र चीनका सेनाबीच भोलिदेखि संयुक्त अभ्यास


काठमाण्डु – नेपाल र चीनका सेनाबीच भोलिदेखि संयुक्त अभ्यास हुने भएको छ ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको चौथो संस्करण ‘सगरमाथा फ्रेन्डसीप’ भोलिदेखि चीनमा सुरु हुँदै छ ।

कोभिड महामारीपछि सन् २०१९ मा रोकिएको दुई देशीय सैन्य अभ्यास पाँच वर्षपछि सुरु हुन लागेको हो । यसअघि सन् २०१९ मा सैन्य अभ्यास काठमाडौंमा भएको थियो । कोरोना संक्रमणपछि भने सैन्य अभ्यासले निरन्तरता पाएको थिएन ।

शनिबारबाट दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तमा सुरु हुने सैन्य अभ्यास असोज १५ सम्म चल्ने नेपाली सेनाले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण पूर्णरूपमा हटिसकेपछि पनि चिनियाँ पक्षले जोखिम कायम रहेको भन्दै सैन्य अभ्यास सुचारु गर्नेबारे ठोस कदम चालेको थिएन ।

निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माले नेपाल र चीनबीचको सैन्य अभ्यास गराउन चाहेका थिए । सोहीबमोजिम दुवै देशका सैनिक अधिकारी सैन्य अभ्यास गर्न तयार भएका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको चौथो संस्करणको संयुक्त सैन्य अभ्यास यसपटक चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा हुने काठमाण्डुपाटीलाई जानकारी दिए ।

प्रवक्ता केसीका अनुसार नेपाली सेनाका २० जनाको विशेष फौज सैन्य अभ्यासमा सहभागी हुनेछ । नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ । ‘सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित रहनेछ’, केसीले बताए ।

आतंकवादबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले २०७४ देखिनै सैन्य अभ्यास गर्दै आएका छन् । पहिलो, दोस्रो र तेस्रो संस्करणको सैन्य अभ्यास पनि प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित थिए ।

नेपाली सेनाले चीनसँग संयुक्त सैन्य अभ्यास नियमित गर्दै आएको छ । नेपालले अमेरिकी र भारतका सेनासँग पनि सैन्य अभ्यास गर्दै आएको छ । नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको पहिलो संयुक्त सैन्य अभ्यास काठमाडौंमा २०७४ वैशाख ३ देखि १२ गतेसम्म भएको थियो । सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने तेस्रो संस्करण २०७६ मा नेपालमै भएको थियो ।