चीन–नेपाल सुरक्षा बैठकः चीनले माग्यो तातोपानी नाका सुरक्षाको योजना

चीन–नेपाल सुरक्षा बैठकः चीनले माग्यो तातोपानी नाका सुरक्षाको योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक — चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन् । दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र सुरक्षासम्बन्धी योजना मागेको हो ।

 

तातोपानी नाका खोल्ने विषय केन्द्रीय सरकारले निर्णय गर्ने जानकारी दिँदै उनीहरूले सीमा सुरक्षाको खाकामा जोड दिएको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताए ।

 

बैठकमा सहभागी नेपाली टोलीका प्रमुख तथा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार चिनियाँ अधिकारीले ‘ज्वाइन्ट कमान्ड मेकानिजम एग्रिमेन्ट’ प्रस्ताव राखेका थिए । उनीहरूले तपाईंहरूको योजना के छ भनेर जानकारी लिन खोजेका थिए ।

 

 

प्रजिअ तामाङको टोलीले यस्तो खाका र संयुक्त सुरक्षा खाकाको स्वीकृति गृह मन्त्रालयबाट मात्र पाउन सकिने जनाउ दिएका थिए ।

 

‘चिनियाँ अधिकारीले राखेको ज्वाइन्ट कमान्डको विषयलाई हामीले माथिल्लो तहमै कुरा गर्न भन्यौं,’ तामाङले भने, ‘सीमाको सुरक्षा र नाका सञ्चालनको विषयमा छलफल भएको थियो ।’ वर्षेनी २० अर्बभन्दा बढीको आयात तथा करिब पौने ३ अर्बको निर्यात हुँदै आएको यो नाका भूकम्पपछि पूर्ण रूपमा बन्द छ ।

 

 

नेपालले हरेक बैठकमा नाका खोल्ने प्रस्ताव राख्दै आएको छ भने चीनले सीमा सुरक्षा र अपराधको विषयमा जोड दिने गरेको छ । नाकाबाट आउजाउ पूर्ण रूपमा बन्द भए पनि सुरक्षाको विषय भने सधैं प्राथमिकतामा पर्दै आएको छ ।

 

 

छलफलमा चिनियाँ पक्षबाट पोलिटिकल कमिसार कर्णेल वाङ जिन ट्यांग ग्वीको नेतृत्वमा ८ जनाको टोली सहभागी थियो । नेपाली पक्षबाट प्रजिअ तामाङको नेतृत्वमा अध्यागमन, भन्सार, सीमा प्रहरीलगायत अधिकारी सहभागी १३ जनाले बैठकमा सहभागिता जनाएका थिए । भूकम्पपछि मात्र सीमा सुरक्षाका सन्दर्भमा ८ वटा बैठक भइसकेका छन् ।

 

नाका सञ्चालनका विषय हरेक बैठकमा उठ्ने गरेको छ । बैठकमा तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले नाका बन्द हुँदा नेपाल–चीनबीच हुँदै आएको व्यापारमा प्रतिकूल असर परेको बताएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।